रुपन्देही हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
Pulse Khabar शुक्रबार, साउन १६, २०८२
काठमाडौँ, १६ साउन: निर्वाचन आयोगले रुपन्देहीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिवाचनका लागि दल दर्ता गर्न आह्वान गरेको गरेको छ । उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका दललाई संविधानअनुसार यही साउन २१ देखि २७ गतेसम्म राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिमको ढाँचामा आयोगमा दल दर्ताका लागि निवेदन दिन सूचना जारी गरिएको हो । सूचनामा दल दर्ता गर्दा नियमावलीबमोजिमको ढाँचामा निवेदन, राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जालको खाता उल्लेख गर्नुपर्ने उल्लेख छ ।
यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, पछिल्लो पटक आयोगसमक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मितिसहितको विवरण पेस गर्नुपर्ने आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत, उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्न तोकिएको ढाँचामा पदाधिकारीको नाम थर, पद र सम्पर्क नम्बरसहितको दस्तखत नमुनालगायत विवरण पस गर्नुपर्ने जानकारी दिइएको छ ।