विराटनगर: विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
चाडपर्व लक्षित वस्तुको आयात बढेसँगै कार्यालयले असोजमा लक्ष्यको १००.२६ प्रतिशत राजस्व असुली गरेको हो ।विराटनगर महानगरपालिका–१८ स्थित एकीकृत जाँच चौकीमा रहेको भन्सार कार्यालयका सूचना अधिकारी डम्बरबहादुर बस्नेतका अनुसार असोज महिनामा ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । उक्त महिनाका लागि ३९ अर्ब ७ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो ।गत आर्थिक वर्षको असोज महिनामा भने विराटनगर भन्सार कार्यालयले निर्धारित लक्ष्यको ८२.५१ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो । यस वर्षको असोजमा लक्ष्यभन्दा बढी राजस्व संकलन हुनुलाई चाडपर्वका लागि लक्षित वस्तुको आयातसँग जोडेर हेरिएको छ ।चालु आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको समग्र राजस्व असुली भने निर्धारित लक्ष्यको ९५.८२ प्रतिशत पुगेको छ । यस अवधिमा १० अर्ब १५ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको बस्नेतले बताए ।असोज महिनामा सबैभन्दा बढी मूल्यको आयातित वस्तुमध्ये एलपी ग्यास र भटमासको कच्चा तेल प्रमुख रहेका छन् । सूचना अधिकारी बस्नेतका अनुसार ९ अर्ब १५ करोड २२ लाख ७० हजार रुपैयाँ बराबरको ६९ लाख ५७ हजार ९ सय ७० किलोग्राम एलपी ग्यास आयात भएको छ ।
त्यसैगरी, ४ अर्ब ८६ करोड ७१ लाख ४७ हजार रुपैयाँ बराबरको २ करोड ४९ लाख ५ हजार लिटर भटमासको कच्चा तेल आयात भएको छ । यी वस्तुको आयातले विराटनगर नाकाबाट हुने व्यापारको ठूलो हिस्सा ओगटेको देखिन्छ ।असोज महिनामा तयारी कपडाको आयात पनि उल्लेख्य रहेको छ । उक्त अवधिमा १२ लाख १९ हजार १ सय ५९ पिस तयारी कपडा विराटनगर भन्सार हुँदै भित्रिएको कार्यालयले जनाएको छ ।त्यस्तै, भौतिक संरचना निर्माण तथा उद्योग–कलकारखानामा प्रयोग हुने अलकत्रा पनि ठूलो परिमाणमा आयात भएको छ । सूचना अधिकारी बस्नेतका अनुसार असोजमा २२ करोड १५ लाख ३६ हजार रुपैयाँ बराबरको १७ लाख १४ हजार ८ सय ७२ किलोग्राम अलकत्रा आयात भएको छ ।चाडपर्वको समयमा उपभोग्य वस्तु तथा औद्योगिक प्रयोजनका सामग्रीको आयात बढ्दा असोज महिनाको राजस्व असुलीमा वृद्धि भएको देखिएको छ । यद्यपि, चालु आर्थिक वर्षको पहिलो तीन महिनाको समग्र राजस्व असुली लक्ष्यभन्दा अझै केही कम रहेको कार्यालयको तथ्यांकले देखाउँछ ।
