११ कार्तिक २०८३, मंगलबार

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

Logo
Pulse Khabar मंगलबार, कार्तिक ११, २०८३

मुस्ताङ: व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन् ।

पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो । केही महिनादेखि पोखरा÷काठमाडौँ लगायतका फलफूल बिक्रेताको गोदाममा मुस्ताङको स्याउ थुप्रिएका छन् । स्याउ खपत हुने मुख्य समयमा सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ जिल्लामै रोकिएको थियो । घटनस्थापनाको दुई दिनअघि मात्रै बेनी–जोमसोम सडकमार्ग सञ्चालन भएको थियो । दसैँको अन्तिम समयमा सडक सञ्चालन भएसँगै मुस्ताङको स्याउ एकैसाथ बजार पुर्याउँदा व्यापारीलाई स्याउ बिक्री गर्न समस्या परेको हो । मुस्ताङमा स्याउको व्यापार गर्दै आइरहेका धादिङ खनियाबाँस गाउँपालिका–३ का व्यापारी राजु तामाङ यसपटक भने स्याउ नबिकेर तनाबमा परेको बताउनुहुन्छ । उहाँले मुस्ताङबाट एक करोड बढी मूल्यको स्याउ खरिद गरिएको भए पनि हालसम्म आधा मात्रै बिक्री भएको छ भन्नुभयो । “स्याउ किसानलाई पैसा बुझाइयो, यता स्याउ नबिकेर तनाबमा परेको छु”, व्यापारी तामाङ भन्नुहुन्छ, “खै लगानी कसरी उठाउने हो, दसैँ पनि स्याउ बिक्री नहुँदा राम्ररी मनाउन सकिएन ।

” मुस्ताङको स्याउ एकैपटक बजारमा ल्याउनुपर्दा गोदाम र मन्डी भरिएकाले स्याउको खपत हुन नसकेको हो । मुस्ताङमा यसवर्ष स्याउको उत्पादन राम्रो भएपनि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यहाँको स्याउ बजारमा बिक्री हुन कठिन भएको हो । यसवर्ष मुस्ताङमा १० हजार मेट्रिकटन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ ।विगतमा असोज अगावै मुस्ताङका स्याउ बिक्री भइसक्थ्यो । यसपाला सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ एकैसाथ बजार पुग्दा मूल्य र बिक्रीमा ह्रास आएको हो । यसवर्ष ७०० मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राखेका चिम्ले अचार्ड कृषि फार्मका सञ्चालक गुरुङले असोज महिनाभित्र सबै स्याउ बिक्री भइसक्नुपर्नेमा आधा मात्रै स्याउ बिक्री गरेको बताउनुहुन्छ ।‘‘दसैँसम्म आधा स्याउ मात्रै बिक्री भएको छ, ४० प्रतिशत स्याउ टिपाइ हुन बाँकी छ”, किसान गुरुङले भन्नुभयो, “स्याउ खपत हुन नसक्दा बढी पाकेर स्याउ बोटबाटै झरेर नष्ट भइरहेको छ, ४०० टन जति स्याउ कोल्ड स्टोरमा राखेको छु ।

” गतवर्ष स्याउको बिक्री तथा व्यवस्थापन राम्रो भए पनि यसपाला स्याउ खपत हुने सिजन सकिन लागेकाले चिन्ता बढेको उहाँले बताउनुभयो । यसवर्ष छिटो पाक्ने स्याउ भदौ १२ र ढिलो पाक्ने स्याउ भदौ २२ गतेबाट टिपाइ गर्न पाउने जिल्लास्तरीय निर्णय गरिएको थियो ।सोही निर्णयअनुसार हरितालिका तीज पर्वको अवसरमा २० प्रतिशत स्याउ बजार पठाउन सकिएको थियो । कृषि तथा पशु विकास कार्यालय मुस्ताङले हालसम्म ५० प्रतिशत स्याउ पोखरा–काठमाडौँ लगायतका सहरमा निकासी भएको जनाएको छ । कृषि तथा पशु विकास कार्यालय प्रमुख डा लालमणि अर्यालका अनुसार यसवर्ष सडक अवरुद्धका कारण मुस्ताङको स्याउलाई बजारीकरण गर्नमा केही समस्या परेको बताउनुभयो । बगैँचामा करिब ४० प्रतिशत स्याउ टिप्न बाँकी छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206