विराटनगर:नेपालीको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमी बुधबार मनाइँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ ।समितिका अनुसार बुधबार बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत छ । त्यसपछि बिहान १०:२६ बजे शुभ साइतमा मान्यजनबाट दुर्गा भवानीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सकिनेछ । साइतमा टीका थाप्ने व्यक्ति पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर नै टीका लगाउन सकिन्छ । शुभ साइतमा टीका लगाउन चाहनेका लागि भने बिहान १०:२६ बजेको समय उत्तम रहेको उनले बताएका छन् । राज्य सञ्चालकले भने समितिले निर्धारण गरेको साइतमै टीका तथा प्रसाद ग्रहण गर्नुपर्ने उनले बताएका छन् ।विजयादशमीका अवसरमा नेपालीले मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । नवरात्रका नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरेपछि दशमीका दिन देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ ।टीका लगाउँदा रातो अक्षता, जमरा र दहीको प्रयोग गर्ने चलन छ । मान्यजनले परिवारका सदस्य तथा आफन्तलाई सुख, शान्ति, दीर्घायु, समृद्धि र सफलताको कामना गर्दै आशीर्वाद दिने गर्छन् । दसैँमा परिवारका सदस्य एकै ठाउँमा भेला हुने, आफन्तसँग भेटघाट गर्ने र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने परम्परा पनि छ ।
काम, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपाली दसैँ मनाउन आफ्नो थातथलो फर्किने गर्छन् । यातायातका साधनमा चाप बढ्ने र बजारमा चहलपहल हुने भएकाले दसैँलाई पारिवारिक पुनर्मिलनको अवसरका रूपमा पनि लिइन्छ ।विजयादशमीका दिन देशभरका शक्तिपीठ तथा मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । कतिपय स्थानमा देवीको प्रसाद ग्रहण गरेपछि आफन्त तथा परिवारका सदस्यकहाँ टीका थाप्न जाने चलन छ । केही समुदायमा विजयादशमीकै दिन टीका लगाउने परम्परा रहे पनि धेरै स्थानमा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिन्छ ।दसैँलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा पनि लिइन्छ । धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक आत्मीयतासँग जोडिएको विजयादशमी नेपाली समाजमा विशेष महत्त्वका साथ मनाइँदै आएको छ ।
