मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार सम्झौता (यूएसएमसीए) अझै वैध तथा कार्यान्वयनमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले सम्झौताको नियमित समीक्षा भइरहेको भए पनि त्यसलाई अन्त्य गर्ने वा खारेज गर्ने प्रक्रिया सुरु भएको अर्थमा बुझ्न नहुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता खारेज गर्न वा त्यसको स्थानमा नयाँ सम्झौता ल्याउन सकिने संकेत दिँदै आएका बेला शेनबामको यो भनाइ सार्वजनिक भएको हो ।
शेनबामका अनुसार यूएसएमसीएको व्यवस्थाअनुसार सम्झौता लागू भएको छ वर्षपछि यसको कार्यान्वयन, प्रभावकारिता तथा आवश्यक सुधारका विषयमा समीक्षा गरिन्छ । उक्त प्रक्रियाले सम्झौतालाई थप १६ वर्षका लागि विस्तार गर्न तीनै देश सहमत छन् वा छैनन् भन्ने विषयको समेत टुंगो लगाउनेछ । मेक्सिको र क्यानडाले सम्झौतालाई थप १६ वर्षका लागि विस्तार गर्न प्रस्ताव गरेका छन् भने अमेरिकाले आगामी १० वर्षसम्मको संरचना कायम राख्दै प्रत्येक वर्ष समीक्षा गर्ने प्रस्ताव अघि सारेको छ । यस विषयमा तीनै देशबीच छलफल जारी रहे पनि हालसम्म अन्तिम सहमति जुट्न सकेको छैन ।
मेक्सिकोका लागि यस समीक्षाको प्रमुख प्राथमिकता अमेरिकामा निर्यात हुने आफ्ना सवारीसाधन, स्टिल र आल्मुनियममा लगाइएका भन्सार शुल्क घटाउनुका साथै समीक्षा अवधिमा थप नयाँ शुल्क लगाउनबाट रोक्नु रहेको राष्ट्रपति शेनबामले बताउनुभएको छ । अमेरिकाले सम्झौतालाई स्वतः विस्तार नगर्ने निर्णय गरेपछि गत जुलाई १ देखि समीक्षा प्रक्रिया सुरु भएको हो। यस प्रक्रियाले उत्तर अमेरिकी क्षेत्रको व्यापार सम्बन्ध, औद्योगिक उत्पादन तथा तीनै देशबीचको आर्थिक सहकार्यको आगामी दिशालाई प्रभाव पार्न सक्नेछ ।
—
