२७ आश्विन २०८३, मंगलबार

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

Logo
Pulse Khabar मंगलबार, आश्विन २७, २०८३

मुस्ताङ: असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो । सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ । उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ । यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्धका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा लालमणि अर्यालले बताउनुभयो ।

अहिलेसम्म ७० प्रतिशत बजारमा पठाइसक्नुपर्नेमा ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँले बताउनुभयो । यहाँ उत्पादित स्याउमध्ये १० प्रतिशत मुस्ताङमै खपत हुने गरेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ । गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन वृद्धि भएकाले यस वर्ष झन्डै रु दुई अर्बको स्याउ बिक्री हुने उहाँको अनुमान छ ।

भारी वर्षाले अवरुद्ध बेनी—जोमसोम सडक मर्मतपछि सडक सञ्चालन भए पनि उक्त सडक पूर्ण रुपमा सहज भने अझै भइसकेको छैन । तर, यहाँका किसानले बजारमा स्याउको बिक्री गर्ने याम घर्किन लागेको हुँदा अहिले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन् । मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बजारमा बढी खपत हुन्छ । तर यसपालि बेनी–जोमसोम सडक लामो समयसम्म अवरुद्ध हुँदा मुस्ताङका किसान तथा स्याउ व्यापारीले यहाँ उत्पादित स्याउ बजार पठाउन सकेनन् ।

सडक सञ्चालन भएसँगै मुस्ताङका पाँचै स्थानीय तहमा उत्पादन भएको स्याउ धमाधम बिक्रीका लागि बजार पठाउन सुरु गरिएको छ । मुस्ताङको घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार बेनी–जोमसोम अवरुद्ध सडक सञ्चालन भएको दुई दिनमा छ ट्रक स्याउ काठमाडौँ पठाएको जानकारी दिनुभयो । उहाँका अनुसार ३० प्रतिशतमात्रै स्याउ बजार पठाउन सकिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206