काठमाडौं:पश्चिमी र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आज (सोमबार) वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ । तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने पूर्वानुमान छ ।
अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
