गोरखा:चुमनुब्री गाउँपालिका-६ स्थित उङ्गिलुङ खोलामा आएको बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् ।
आज (आइतबार) बिहान आएको बाढीले उङ्गिलुङ गोठमा बस्ने पाँच जना र धाउनेका तीन घरका पाँच जना सम्पर्कविहीन भएको स्थानीय दिपेश लामाले जानकारी दिए ।लामाका अनुसार आइतबार बिहान ४ बजे उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो । पहिरोका कारण खोला केही समय थुनिएपछि एक्कासि खुलेर बाढी आएको हो । बाढीपछि १० जना सम्पर्कमा नरहेको उनले बताए ।उङ्गिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले हालसम्म दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ ।बाढीले गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल बगाएको छ ।
यस्तै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल पनि बगाएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।बूढीगण्डकीको बाढीले धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बगाएको छ । माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।यसैबीच, नेपाली सेनाले हवाईमार्गबाट जगत क्षेत्रबाट ६ जनाको उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ ।
