गोरखा:गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्चेत क्षेत्रमा सुक्खा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि आएको भीषण बाढीले तटीय बस्तीमा ठूलो क्षति पुर्याएको छ ।
बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ भने विभिन्न स्थानका पुल, बजार र बस्तीमा समेत क्षति पुगेको छ । नदी थुनिने र खुल्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ ।आइतबार बिहानै नदीमा आएको लेदो, गेग्रान र ठूला ढुंगासहितको बाढीले चुमनुब्री गाउँपालिकाका विभिन्न बस्ती प्रभावित भएका हुन् । बाढीले सोती बजारमा रहेको पुल, दोभानको बेलिब्रिज, केरौंजा जाने झोलुंगे पुल तथा न्याक्चेत र फिलिम बजार जोड्ने पुलसमेत बगाएको जानकारी प्राप्त भएको छ । घट्टेखोला क्षेत्रमा घरभित्र लेदोसहितको पानी पसेको छ भने जगत्, सल्लेरी र माछीखोला बजारमा व्यापक क्षति पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा बिहान करिब ४ बजेतिर ठूलो आवाजसहित बाढी आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताएका छन् । उनका अनुसार लोक्पा क्षेत्रमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि पानी एकाएक ठूलो परिमाणमा बग्न थालेको हो । पहिरोले करिब १५० मिटर माथिसम्मको क्षेत्र ढाकेको र अझै पहिरो खसिरहेको जानकारी उनले दिए ।‘नदी थुनिने र खुल्ने क्रम जारी छ । दुई–तीन पटक ठूलो बाढी आइसकेको छ । ठूला ढुंगा पल्टाउँदै पानी बगिरहेको छ । तटीय क्षेत्रका मानिसहरू डराएर सुरक्षित स्थानमा बसेका छन्,’ सापकोटाले बताएका छन् । उनका अनुसार जगत् क्षेत्रको तल्लो भागका घरहरू बगाएको खबर आएको छ ।सल्लेरीलगायत तल्लो क्षेत्रको क्षतिको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन । बाढीको बहाव र पहिरो खस्ने क्रम नरोकिएकाले प्रभावित क्षेत्रको अवस्था बुझ्नसमेत कठिनाइ भइरहेको छ ।
बाढीको जोखिम बढेपछि स्थानीय प्रशासन, प्रहरी र सुरक्षाकर्मीले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछीखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन भनिएको छ ।प्रहरीका अनुसार आइतबार बिहान ५ः३० बजे नदी पहिरोका कारण थुनिएको सूचना प्राप्त भएको थियो । त्यसलगत्तै प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । नदी थुनिएपछि तटीय क्षेत्रमा रहेका प्रहरी युनिट र स्थानीय बासिन्दालाई सचेत गराइएको थियो । बिहान ६ः१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि बाढीको जोखिम बढेको प्रहरीले जनाएको छ ।बाढी बिहान करिब ७ः३० बजेतिर सोती बजार पुगेको थियो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बाढीले सोती बजारमा रहेको पुल र केही टहरा बगाएको छ । धार्चे गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले दोभानको पुल, केरौंजा जाने पुल र केही बस्तीका घरहरू बगाएको जानकारी दिएकी छन् ।
यसैगरी, चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार पैयू र बगर गाउँका ३५ घर बाढीले बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरीमा पनि ठूलो क्षति पुगेको छ । बिहानै बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए ।बाढीको जोखिम चुमनुब्री गाउँपालिकामा मात्र सीमित नरहने आकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढीगण्डकीको तल्लो तटीय क्षेत्र आरुघाटसम्म क्षति पुग्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार सिर्दिबास, जगत्, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत र आरुघाटसम्म बाढीको जोखिम छ । यी क्षेत्रका बासिन्दालाई नदी किनारबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सचेत गराएको छ । महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान गरिएको थियो । सोही आधारमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सन्देश पठाइएको उनले बताएका छन् ।
बाढीको कारणबारे प्रारम्भिक अनुमान गरिए पनि घटनाको पूर्ण विवरण खुलिसकेको छैन । चुमनुब्री गाउँपालिका–६ को चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै बुढीगण्डकीमा बाढी मिसिएको बताइएको छ । माथिल्लो क्षेत्रमा वर्षा भएको अभिलेख नरहेको अवस्थामा पहिरोले नदीको बहाव रोकेको र पछि थुनिएको पानी एकाएक खुलेर बाढी आएको हुन सक्ने विपद् प्राधिकरणको प्रारम्भिक आकलन छ ।बाढीले ठूलो क्षति पुर्याएपछि उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार, राहत तथा जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन भइसकेको जानकारी दिँदै उनले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरे ।
नदीमा पानीको बहाव घट्ने र पुनः बढ्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ । बाढीले ठूला ढुंगा बगाउँदै बस्ती तथा पुलमा क्षति पुर्याइरहेकाले सुरक्षाकर्मीसमेत सतर्क अवस्थामा छन् । तत्कालीन अवस्थामा तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राख्नु र बाढीको बहाव निरन्तर निगरानी गर्नु चुनौतीपूर्ण बनेको छ ।बुढीगण्डकीमा आएको आकस्मिक बाढीले पुर्याएको मानवीय तथा भौतिक संरचना क्षतिको पूर्ण विवरण भने प्राप्त हुन बाँकी छ । नदीको बहाव र पहिरोको अवस्था यकिन नभएसम्म चुमनुब्रीदेखि धार्चे हुँदै आरुघाटसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
