बेनी(म्याग्दी):पहिरो र कालीगण्डकी नदीको कटानले क्षतविक्षत बनेको बेनी–जोमसोम सडकमा जोखिम कायमै छ।
सडक पूर्ण रूपमा सहज नबन्दै दसैँतिहारलाई लक्षित गरी मुस्ताङबाट भेडाच्याङ्ग्रा म्याग्दीतर्फ झार्न थालिएको छ। सात दिनको पैदल यात्रा गर्दै व्यापारीहरू पहिरोको जोखिमपूर्ण बाटो पार गरेर भेडाच्याङ्ग्रा बजारसम्म पुर्याउन लागिपरेका छन्।जोखिमपूर्ण सडक हुँदै भेडाच्याङ्ग्राका बथान म्याग्दीतर्फ झरिरहेका छन्। मुस्ताङबाट सात दिनको पैदल यात्रा गरेर म्याग्दी आइपुगेका भेडाच्याङ्ग्राका बथान रघुगङ्गा गाउँपालिका–२, कुनौटामा बिहीबार मात्रै नयाँ ट्र्याक खोलिएको सडक पार गर्दै गरेको देखिन्थे।
अपर मुस्ताङबाट सात दिनको पैदल यात्रा गरेर म्याग्दी आइपुग्नुभएका धनप्रसाद कुमाईले पाँच जना मिलेर खरिद गरेका ४६० भेडाच्याङ्ग्रा ज्यानको बाजी राखेर यहाँसम्म ल्याएको बताउनुभयो।उहाँले भन्नुभयो, “सडक सामान्य रूपमा सञ्चालनमा आए पनि धेरै स्थानमा सडक माथिबाट अहिले पनि पहिरो झरिरहेको देखिन्छ। बाढीपहिरोले क्षतिग्रस्त सडक पार गर्न निकै कठिन भएको छ। यसपालि ज्यानको बाजी राखेर भेडाच्याङ्ग्रा यहाँसम्म ल्याइपुर्याएका छौँ।”उहाँका अनुसार बेनी–जोमसोम सडकको बैसरीस्थित पहिरो क्षेत्र पार गरेपछि भेडाच्याङ्ग्रालाई गाडीमा राखेर काठमाडौँ लैजाने तयारी छ। कुमाईले एउटा च्याङ्ग्राको मूल्य ४० हजारदेखि ४५ हजार रुपियाँसम्म पर्ने बताउनुभयो।
दसैँतिहारलाई लक्षित गरी मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा बजारसम्म पुर्याउन यस वर्ष व्यापारीहरूले कठिन र जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि यात्रा लम्बिएको छ भने पहिरोको जोखिमका कारण भेडाच्याङ्ग्रा ओसारपसारसमेत चुनौतीपूर्ण बनेको छ। यात्रा लामो हुँदा समय र लागत बढेकाले बजारमा भेडाच्याङ्ग्राको मूल्यसमेत बढेको छ।
