पर्वत: बाढीपहिरोबाट पीडित पर्वतका बासिन्दालाई न्यानो कपडा वितरण गरिएको छ ।
गण्डकी प्रदेशका बाढी तथा पहिरो प्रभावित समुदायका लागि आपतकालीन मानवीय प्रतिकार्य परियोजनाअन्तर्गत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री वितरण कार्यक्रममार्फत कपडा वितरण गरिएको हो ।स्टार फण्ड नेपाल तथा युकेएडको आर्थिक सहयोग तथा किडाक नेपाल तथा सोडेक नेपालको समन्वयमा पूर्ण रुपमा विस्थापित बनेका ३० परिवारलाई कपडा वितरण गरिएको छ । यसअघि उनीहरुलाई ग्यास, चामल, खानेतेल, दाल, नुन वितरण गरिएको थियो । विस्थापित बनेर टेण्टमा बस्दै आएका महिला, बालबालिका, सुत्केरी तथा वृद्धवृद्धालगायत परिवारका सदस्यलाई प्रति परिवार रु १० हजार ९६५ मुल्य बराबरका गरी कूल रु तीन लाख २९ हजारका लत्ताकपडा वितरण गरिएको किडाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले जानकारी दिनुभयो ।पहिलो चरणमा खाद्यान्न र ग्यास, दोस्रो चरणमा लत्ताकपडा, तेस्रो चरणमा ओढ्ने ओच्छ्याउने विस्तारा र स्वास्थ्य सामग्री, पाँचौँ चरणमा भाडाकुडा वितरण गरिनुका साथै छैटौ चरणमा मनोपरामर्श लगायतका कार्यक्रम सञ्चालन गर्ने परियोजनाको लक्ष्य रहेको बताइन्छ ।
जलजला गाउँपालिकाका थप ५१ परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा र वेड विस्तारा वितरण गरिने अध्यक्ष तिमिल्सिनाले बतउनुभयो । परियोजनाअन्तर्गत पर्वत, बागलुङ र मनाङमा गरी ४५० परिवारलाई राहत सामग्री वितरण गरिने भएको छ । ८ देखि ११ गतेसम्मको वर्षापछि बाढी तथा पहिरोबाट प्रभावित पर्वत, बागलुङ र मनाङमा उक्त परियोजना लागू हुने भएको हो । तीन जिल्लाका ११ वटा स्थानीय तह बढी प्रभावित भएकाले त्यहाँका ४५० परिवारलाई आपतकालीन मानवीय प्रतिकार्यमा सहयोग गरिने भएको छ ।उक्त योजनाका लागि रु तीन करोडभन्दा बढी रकम खर्चिने भएको छ । बाढी प्रभावित समुदायको माग र आवश्यकताको आधारमा खाद्यान्न तथा गैरखाद्यान्नका सामग्री वितरण गरिने सोडेक नेपालका महासचिव टङ्कलाल भुसालले जानकारी दिनुभयो ।
कालीगण्डकीको बाढी र विभिन्न क्षेत्रको पहिरोका कारण जलजला गाउँपालिकामा ११३ परिवार विस्थापित बनेका छन् । अहिले उनीहरु बस्तीभन्दा माथिको पाखोमा अस्थायी टेण्ट टाँगेर बस्दै आएका छन् । उनीहरुलाई स्थानीय जलजला गाउँपालिका, विभिन्न सामाजिक सङ्घसंस्थाले विभिन्न उपभोग्य सामग्री सहयोग गरिरहेको वडा नंं. ८ का अध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो । तत्कालका लागि अस्थायी बासको व्यवस्था भए पनि उनीहरुले दीर्घकालीन पुनःस्थापनाको माग गरेका छन् । विस्तारै चिसो बढ्दै गएकाले टेण्टमुनि रात कटाउन मुस्किल पर्न थालेको टेण्टमा बस्दै आएउनुभएका वृद्ध खड्गबहादुर केसीले बताउनुभयो ।
