सुदूरपश्चिम:कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन् ।
गए राति स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया श्रृष्टी चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, सात वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन् ।
घाइते सबैलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
