भद्रपुर:झापा जिल्ला कारागारका महिला कैदीबन्दीको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्न एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नेपाल परिवार नियोजन सङ्घ, झापा शाखाद्वारा सञ्चालित शिविरमा महिला कैदीबन्दीको ‘भिआइए’ सहित प्रजनन स्वास्थ्यसम्बन्धी जाँच गरिएको हो । भिआइए पाठेघरको मुखमा क्यान्सर हुनसक्ने सम्भावना तथा प्रारम्भिक लक्षण पहिचान गर्ने सरल र छिटो परीक्षण विधि हो ।सङ्घका झापा सभापति तोयानाथ गड्तौलाका अनुसार झापा कारागारमा पहिलोपटक यस्तो शिविर सञ्चालन गरिएको हो । शिविरमा दुई जना दक्ष नर्सबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाका अनुसार सामान्य सङ्क्रमण देखिएका महिलालाई कारागारभित्रै निःशुल्क औषधि उपलब्ध गराइएको छ । शङ्कास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि कारागार प्रशासनसँग समन्वय गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गरिनेछ । कारागार प्रशासक रेवन्त भट्टराईका अनुसार हाल कारागारमा ८१ जना महिला कैदीबन्दी छन् । तीमध्ये एक जना गर्भवती रहेको उहाँले जानकारी दिनुभयो । शिविरमा एबिसी नेपाल, मानव अधिकारका लागि महिला, एकल महिला समूह, नेपाल अपाङ्ग सङ्घलगायत सहयोग गरेको शिविरको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले उद्घाटन गर्नुभएको थियो ।
