बनेपा (काभ्रे): जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बालबालिकालाई स्वर्णबिन्दु (स्वर्णप्राशन) खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
गत भदौदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत हरेक महिनाको पुख्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णबिन्दु खुवाइँदै आएको छ । यस पटक अनलाइनमार्फत ३४४ जना बालबालिका दर्ता भएकामा ३०८ जनालाई स्वर्णबिन्दु खुवाइएको चिकित्सालयले जनाएको छ ।स्वर्णबिन्दु खुवाइएका बालबालिकामध्ये १२७ जना बालिका र १८१ जना बालक छन् । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्मरणशक्ति अभिवृद्धि र समग्र शारीरिक, मानसिक, बौद्धिक एवं साहसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको चिकित्सालयले जनाएको छ ।
आयुर्वेद शास्त्रअनुसार प्राचीन कालदेखि नै पुख्य नक्षत्रको शुभ अवसरमा सुन र विभिन्न उपयोगी जडीबुटीको मिश्रणबाट तयार पारिएको स्वर्णबिन्दु सही मात्रामा खुवाउँदा बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने चिकित्सालयका प्रमुख डा अर्जुन उपाध्यायले बताउनुभयो ।उहाँका अनुसार हाल देशका ६० भन्दा बढी जिल्लामा स्वर्णप्रासन कार्यक्रम सञ्चालन हुँदै आएको छ । तोकिएको समयमा उपस्थित भई आफ्ना बालबालिकालाई स्वर्णबिन्दु खुवाएर कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अभिभावकप्रति चिकित्सालयले आभार व्यक्त गरेको छ ।
