काठमाडौं:दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक वीरेन्द्रनगरमा सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आइतबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसहित सम्बन्धित सरकारी निकायका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ।आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन बैठकमा तयारी तथा व्यवस्थापनका विभिन्न पक्षमा छलफल भइरहेको छ ।
प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन, खेलाडीको सहभागिता, खेल सञ्चालनको योजना, सुरक्षा, आवास तथा अन्य व्यवस्थापन बैठकका प्रमुख एजेन्डा रहेका छन् ।कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन प्रदेश र केन्द्रस्तरबाट भइरहेको तयारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठक केन्द्रित रहेको जनाइएको छ ।
