विराटनगर:फोटोग्राफर संघ मोरङले फोटो तथा भिडियो क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो आयोजना गर्ने भएको छ ।
संघले असोज १७ र १८ गते विराटनगरस्थित आरके पार्टी प्यालेसमा एक्स्पो आयोजना गर्न लागेको हो । एक्स्पोमा स्थानीय फोटोग्राफर तथा भिडियोग्राफरले खिचेका विभिन्न फोटो तथा भिडियो प्रदर्शनीमा राखिने छ ।एक्स्पो संयोजक एकराज श्रेष्ठका अनुसार नयाँ पुस्तालाई फोटोग्राफी तथा भिडियोग्राफी क्षेत्रमा भित्रिएका नवीन प्रविधिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।एक्स्पोका क्रममा फोटो तथा भिडियो सम्पादनसम्बन्धी तालिमका साथै कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोगसम्बन्धी प्रशिक्षणसमेत सञ्चालन गरिने छ । पछिल्लो समय फोटो तथा भिडियो क्षेत्रमा एआईलगायत नयाँ प्रविधिको प्रयोग बढ्दै गएकाले त्यसको व्यावहारिक प्रयोगबारे जानकारी दिने तयारी गरिएको आयोजकले जनाएको छ ।
फोटोग्राफी तथा भिडियोग्राफी व्यवसायमा आबद्ध जनशक्तिलाई नयाँ प्रविधिसँग जोड्नुका साथै स्थानीय प्रतिभाको सिर्जना र कामलाई प्रवद्र्धन गर्ने एक्स्पोको उद्देश्य रहेको संघले जनाएको छ ।फोटोग्राफर संघ मोरङमा हाल १७२ जना सदस्य आबद्ध छन् । एक्स्पोले जिल्लाका फोटोग्राफर तथा भिडियोग्राफरबीच अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको प्रयोग र सम्भावनाबारे जानकारी लिने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ ।
