विराटनगर:नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनमा विवाद चर्किएको छ।
क्षेत्रीय सभापति देवु तामाङसहित विभिन्न वडाका सभापतिले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै अधिवेशन बहिष्कारको घोषणा गरेका छन्।सुन्दरहरैँचामा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले पार्टीको विधि, विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत सीमित व्यक्तिको सहभागितामा अधिवेशन अघि बढाइएको आरोप लगाएका छन्। सबै पक्षलाई समेटेर संवाद र सहमतिबाट अधिवेशन गर्नुपर्नेमा एकपक्षीय ढंगले प्रक्रिया अघि बढाइएकाले आफूहरू सहभागी नभएको उनीहरूको भनाइ छ।यसअघि बुधबार सुन्दरहरैँचामा भएको क्षेत्रीय अधिवेशनका क्रममा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद भएको थियो। विवाद बढ्दै झडप र तोडफोडको अवस्थासम्म पुगेपछि तीन जना घाइते भएका थिए। त्यसपछि निर्वाचन प्रक्रिया रोकिएको थियो। रोकिएको निर्वाचन प्रक्रिया अघि बढाउन कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार मोरङ जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई संयोजकको जिम्मेवारी दिएको थियो। मण्डलले जिम्मेवारी पाएपछि शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रिया पुनः अघि बढाएका छन्। बुढीगंगा गाउँपालिका–३ बाँसबारीस्थित राजवंशी खवास सामुदायिक भवनमा बिहान ७ बजेदेखि निर्वाचन प्रक्रिया सुरु गरिएको हो।तर, क्षेत्रीय सभापति तामाङसहितका नेताहरूले भने आफूहरूसँग आवश्यक समन्वय र जानकारी नै नगरी अधिवेशन अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका छन्। तामाङले क्षेत्रीय सभापति तथा सम्बन्धित वडाका सभापतिलाई समेत जानकारी नदिई आयोजना गरिएको अधिवेशन वैधानिक नहुने दाबी गरे। उनका अनुसार बुधबारको घटनापछि पार्टी सभापतिसँग निरन्तर संवाद भइरहेको भए पनि समस्या समाधानका लागि वार्ता अघि बढाउनुपर्ने अवस्थामा निर्वाचन संयोजक तोकेर अधिवेशन अघि बढाइएको हो।‘क्षेत्रका ठूलो संख्यामा रहेका साथीहरूलाई बाहिर राखेर आयोजना गरिएको अधिवेशन मान्य हुँदैन,’ तामाङले भने, ‘संवाद र सहमतिबाट समस्या समाधान गर्नुपर्नेमा एकलौटी ढंगले अधिवेशन गरिनु उचित होइन।
’ क्षेत्रका निवर्तमान सभापति तथा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले पनि विवाद समाधान नगरी अधिवेशन अघि बढाउँदा त्यसको असर पार्टीको आगामी निर्वाचनमा पर्न सक्ने बताए।उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष तहबाटै सहजीकरण हुनुपर्नेमा त्यसविपरीत एकपक्षीय रूपमा अधिवेशन गराउन खोजिएको आरोप लगाए। ‘साथीहरूलाई सहमतिमा ल्याएर अघि बढ्नुपर्ने हो। समस्याको निकास नखोजी अधिवेशन गराउनुको औचित्य हुँदैन,’ उनले भने। सुन्दरहरैँचा–६ का वडाध्यक्ष सञ्जीव राईले पनि आफूहरूको चाहना विवादरहित र शान्तिपूर्ण अधिवेशन भएको बताए। प्रतिनिधिहरूलाई समेटेर अघि बढ्ने वातावरण बनाउनुपर्ने भन्दै उनले एकपक्षीय प्रक्रियाले थप विवाद निम्त्याउन सक्ने बताए।पत्रकार सम्मेलनमा सहभागी नेताहरूले कांग्रेस सहमहामन्त्री डिला संग्रौलाको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। उनीहरूले संग्रौलाको पहलमा क्रियाशील सदस्यता एकपक्षीय ढंगले वितरण तथा व्यवस्थापन गरिएको आरोप लगाउँदै त्यसकै कारण क्षेत्र नम्बर ६ मा विवाद उत्पन्न भएको दाबी गरेका छन्। संग्रौलाको पक्षबाट यस विषयमा के प्रतिक्रिया आएको छ भन्नेबारे भने उनीहरूको भनाइमा उल्लेख छैन।क्षेत्रीय अधिवेशनमा उत्पन्न विवादका कारण कांग्रेसको आन्तरिक संगठनात्मक प्रक्रिया प्रभावित भएको छ। क्षेत्र नम्बर ६ मा २० वटा वडा छन् भने नौ सयभन्दा बढी प्रतिनिधि रहेका छन्। विवाद समाधान नगरी अघि बढाइएको निर्वाचन प्रक्रियाले अधिवेशनको वैधानिकता र आगामी दिनमा पार्टीभित्रको समन्वयलाई थप चुनौती दिने देखिएको छ।

