

काठमाडौं । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा यातायात ठप्प पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकभरका ११ मुख्य राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । केही सडकखण्डहरु एकतर्फी मात्र सञ्चालनमा रहेका छन् ।
अवरुद्ध हुने प्रमुख राजमार्गहरूमा सङ्खुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, तमोर करिडोर सडकखण्ड र मध्यपहाडी लोकमार्ग, रसुवाको पासाङ–ल्हामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको जोमसोम–लोमान्थाङ सडक, रोल्पाको सहिद राजमार्ग, रुकुम पश्चिमको जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीको महाकाली राजमार्ग रहेका छन् ।
यस्तै, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोर र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग भने हाल एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण बाढी, पहिरो र सडक कटान भएका कारण यातायात अवरुद्ध हुँदा सर्वसाधारणलाई आवागमनमा कठिनाइ भएको छ । सम्बन्धित निकाय र प्रहरी परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै यात्रु तथा चालकहरुलाई सुरक्षित रहन र जोखिमपूर्ण सडक प्रयोग नगर्न समेत आग्रह गरिएको छ ।