विराटनगर:नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनमा कुटपिट भएपछि क्षेत्रीय संयोजक परिवर्तन गरिएको छ । बुधबार सुन्दरहरैँचामा अधिवेशन सुरु हुनुअघि नै क्षेत्रीय संयोजकको जिम्मेवारी पाएका नेता चुमनारायण तबदारसहित तीन जनामाथि सांघातिक आक्रमण भएको थियो ।
संयोजकको जिम्मेवारीमा रहेका नेतामाथि नै आक्रमण भएपछि कांग्रेसले बिहीबार नयाँ संयोजक तोकेको हो । नयाँ संयोजक तोकिएसँगै शुक्रबारदेखि अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले बिहीबार मण्डललाई क्षेत्रीय संयोजक तोकिएको पत्र पठाएका हुन् ।

