काठमाडौँ: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तावित रोग नियन्त्रण केन्द्र (सिडिसी), खाद्य तथा औषधि प्रशासन (एफडिए) र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण (एनएचएए)ले रोग नियन्त्रण, औषधि तथा खाद्य नियमन र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
उहाँले यी तीनवटै संरचना निर्माण गर्दा विद्यमान संस्थाको विशेषज्ञता, जनशक्ति र अनुभवलाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।यहाँ आज आयोजित सिडिसी, एफडिए तथा एनएचएए स्थापनासम्बन्धी कार्यशाला गोष्ठीमा मन्त्री मेहताले औषधि तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टता हटाउँदै औषधि, खोप, स्वास्थ्य उपकरण, रोग परीक्षणसामग्रीलगायतको नियमनलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । एनएचएएले स्वास्थ्य संस्थाको बाह्य मूल्याङ्कन तथा गुणस्तर प्रत्यायनको प्रणाली विकास गर्न सक्ने उहाँले बताउनुभयो ।
त्यस्तै, सिडिसीलाई रोग निगरानी, महामारी तयारी तथा आकस्मिक प्रतिकार्यमा सङ्घीय तहको प्राविधिक नेतृत्व गर्ने संरचनाका रूपमा विकास गर्न सकिने मन्त्री मेहताको भनाइ थियो ।“सुधार रूपान्तरणका लागि हुनुपर्छ, विकृतिका लागि होइन”, उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य संस्था बनाउनु मात्रै होइन, स्वास्थ्य प्रणाली बलियो बनाउनु हो ।” मन्त्री मेहताले प्रस्तावित तीनवटै संरचनाको अन्तिम स्वरूप तत्काल निर्धारण गर्ने चरणमा मन्त्रालय नरहेको स्पष्ट पार्नुभयो । हाल मस्यौदा, कार्यढाँचा र मार्गचित्र तयार गर्ने चरणमा रहेको बताउँदै उहाँले संरचना निर्माणका क्रममा सम्बन्धित सरोकारवाला, प्रदेश तथा स्थानीय तह, निजी क्षेत्र, स्वास्थ्यकर्मी, विज्ञ तथा शैक्षिक क्षेत्रसँग चरणबद्ध रूपमा छलफल गरिने जानकारी दिनुभयो ।
