

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेको प्रेस्टिज कार्पेट इन्डिस्ट्रिज ले आफ्ना उत्पादन तेस्रो मुलुकमा निर्यात गर्न थालेको छ । उद्योगले गत बिहीबार वीरगञ्जस्थित सुक्खाबन्दरगाहमार्फत ३० हजार वर्गमिटर गलैँचा निर्यात गरेको हो ।
इन्डिस्ट्रिजका सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई), अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायतका देशमा नेपाली गलैँचा निर्यात गरिएको हो । यसअघि भारतसम्म मात्रै निर्यात गर्दै आएको उद्योगले तेस्रो मुलुकमा पनि बजार विस्तार गर्न सफल भएको छ ।
“लामो प्रयासपछि नेपाली गलैँचा तेस्रो मुलुकमा पठाउन सफल भयौं, पहिलो चरणमै करिब एक करोड रुपैयाँ बराबरको निर्यात गरेका छौं,” सञ्चालक साहले बताए ।
जितपुर–सिमरा उपमहानगरपालिका–२३ मा रहेको उक्त उद्योगमा करिब ४० करोड रुपैयाँ लगानी छ । उद्योगले हाल १०० जना नेपालीलाई रोजगारी दिएको छ र यसको वार्षिक उत्पादन क्षमता २० लाख वर्गमिटर रहेको छ । उद्योगले प्रतिवर्गमिटर ९०० देखि ४ हजार रुपैयाँ मूल्यका गलैँचा उत्पादन गर्दै आएको छ ।
यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले नेपालमै कच्चा पदार्थ प्रशोधन गरी उच्च गुणस्तरीय उत्पादन बनाएर विदेश निर्यात गर्न थालेकोमा खुसी व्यक्त गरे । “विदेशबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरी तेस्रो मुलुकमा पठाउन थालेको खबर निकै सकारात्मक र उत्साहजनक छ,” अध्यक्ष गौतमले भने । उद्योगले आगामी दिनमा निर्यात थप बढाउँदै लैजाने लक्ष्य लिएको जनाएको छ ।