विराटनगर:विराटनगरमा तास खेल्दै गरेको अवस्थामा सोमबार राति पक्राउ परेकामध्ये एक जना हिरासतमै अचेत अवस्थामा भेटिएका छन् ।
पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला हिरासतभित्रै बेहोस अवस्थामा फेला परेका हुन् । विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेल्दै गरेका बेला कोइरालासहित आठ जनालाई प्रहरीले राति ११ः३० बजेतिर पक्राउ गरेको थियो ।पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । हिरासतमा सँगै रहेका साथीहरुले मंगलबार बिहान ७ः३० बजेतिर चिया खान उठाउँदा नबोलेपछि कोइरालालाई तत्काल उपचारका लागि कोशी अस्पताल पठाइएको थियो ।कोशीमा सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । नोबेलमा गम्भीर अवस्थामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारमा संलग्न चिकित्सकले अवस्था चिन्ताजनक रहेको जानकारी दिएका छन् । प्रहरीले घटनाका बारेमा कोइरालाको परिवारका सदस्य र आफन्तलाई जानकारी दिइसकेको छ ।मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले घटनाका बारेमा थाहा पाउनसाथ कोइरालालाई उपचारका लागि लगिएको जानकारी दिए ।
‘तास खेल्दै गरेका बेला पक्राउ गरिएका सबैलाई एउटै हिरासतमा सँगै राखिएको थियो । बिहान चिया खानलाई साथीहरुले उठाउँदा नउठेपछि कोइरालालाई तत्काल उपचारका लागि अस्पताल लगियो । अहिले अचेत अवस्थामै उपचार जारी छ,’ उनले भने ।चिकित्सकका अनुसार दुर्घटनामा परेर यसअघि नै कोइरालाको टाउकाको शल्यक्रिया भएको पाइएको छ । उनी यसअघि पनि तास खेल्दै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । कोइराला बेहोस हुनुको कारण पत्ता लाग्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।प्रहरीको गस्ती टोलीलाई देखेपछि लालु पासवानको घरमा तास खेलिरहेकाहरु भागेका थिए । रातको समयमा होहल्ला गर्दै केही व्यक्ति भागभाग गरिरहेको देखेपछि घटनास्थल पुगेर प्रहरीले तास खेलिरहेका आठ जनालाई पक्राउ गरेको थियो ।प्रहरीबाट उम्किने क्रममा घरको दुई तला माथिदेखि हामफाल्दा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको छ ।
घरबाट जमिनमा खस्दा खुट्टा भाँचिएका उनको विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक रहेका उनको भने अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।कोइराला र मुखियासँगै मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत पक्राउ परेका थिए । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।पक्राउ परेकाको साथबाट तासका साथै नगद ४८ हजार ३ सय ९५ रुपैयाँ बरामद डीएसपी मिश्रले बताए । उनका अनुसार कोइराला र मुखियाको उपचार जारी छ भने अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
