ताप्लेजुङ: ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा छ वर्षको अवधिमा दुईपटक ठूलो आगलागी भएको छ ।
पहिलो आगलागीबाट सर्वस्व गुमाएका दोभानवासी विस्तारै आफ्नो व्यापार–व्यवसाय र दैनिकीलाई लयमा फर्काउँदै गर्दा बिहीबार भएको आगलागीले पुनः बिचल्लीमा पारेको छ ।बिहीबार भएको आगलागीमा परी १० घर र १७ वटा पसल जलेका छन् । आगलागीबाट घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त तथा छरछिमेकीको आश्रयमा छन् । केही पीडित भने जलेका घर तथा पसलका भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने र पुनर्निर्माणको तयारीमा जुटेका छन् ।छोराहरूसँग बस्दै आउनुभएका ८६ वर्षीय स्यामलाल खरेलका लागि यो आगलागी विगतको पीडा दोहोरिएजस्तै भएको छ । “पटकपटकको आगलागीले ठूलो पीडा दियो । व्यापार व्यवसायमा लगानी गरेर बसियो, सबै सखाप भयो, अब बसौँ कसरी बस्ने, जाउँ कता जाने ?” उहाँले भन्नुभयो ।अर्का अग्निपीडित चन्द्र पौडेल पनि छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा पर्दा पुनःस्थापनाको चिन्तामा हुनुहुन्छ । “छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा परियो, यसो तङ्ग्रिँदै गर्दा पुनः आगलागीले सखाप पार्यो”, उहाँले भन्नुभयो, “अब सरकारले दिने सामान्य राहतले हाम्रो समस्या समाधान हुँदैन । सरकारले बिनाब्याज ऋणको व्यवस्था गरिदियोस्, हामी पुनःस्थापित भएर साँवा रकम सरकारलाई फिर्ता गर्छौँ । नत्र आफैँले गर्न सक्ने अब कुनै उपाय छैन ।”उद्योग वाणिज्य सङ्घ दोभान शाखाका अध्यक्ष हरि काफ्लेले बजारका व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट समेत सहज रूपमा ऋण पाउन नसकेको बताउनुभयो । नदी तथा खोलाकिनारमा बजार रहेकाले बैंकले लगानी डुब्ने जोखिम देखाउँदै ऋण दिन आनाकानी गर्ने गरेको उहाँको गुनासो छ ।
“दोभान बजारवासीलाई बैंकबाट ऋण पाउन पनि सहज छैन, नदी तथा खोला किनारमा बसेको बजार भएकाले लगानी डुब्ने जोखिम देखाएर बैंकहरूले ऋण दिन सकिरहेका छैनन्”, काफ्लेले भन्नुभयो ।आगलागीपीडित परिवार तत्कालका लागि आफन्त तथा छरछिमेकीको घरमा आश्रय लिएर बसेका छन् । उनीहरू अहिले जलेका सामान तथा भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने र सम्भव भएका संरचनाको पुनर्निर्माण तथा व्यवस्थापनमा जुटेका छन् । शनिबार दिउँसोबाट मौसममा केही सुधार भएकाले जलेका सामान तथा भग्नावशेष पन्छाउने कार्य भइरहेको पीडित चन्द्र पौडेलले बताउनुभयो ।जिल्ला विपद् व्यवस्थापन समिति, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, मेरिङ्देन गाउँपालिकालगायत सरकारी तथा गैरसरकारी निकायले तत्कालका लागि पीडितपरिवारलाई राहत रकम तथा विभिन्न सामग्री उपलब्ध गराएका छन् । पीडितले भने तत्कालको राहतभन्दा दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारको विशेष सहयोग आवश्यक रहेको बताएका छन् ।बिहीबार दिउँसो भएको आगलागीमा आठ परिवारका १० घर तथा १७ वटा पसल जलेको प्रारम्भिक विवरण छ । आगलागीबाट करिब रु १४ करोड ५० लाखबराबरको क्षति भएको बताइएको छ । सदरमुकाम फुङ्लिङबाट दुईवटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो ।सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो बढी कारोबार हुने व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा करिब ८० वटा घर तथा पसल रहेको उद्योग वाणिज्य सङ्घ दोभानले जनाएको छ ।
बजारमा यसअघि २०७७ साल फागुनमा ठूलो आगलागी भएको थियो । उक्त आगलागीले ४९ घर जलेका थिए भने करिब रु ४० करोडभन्दा बढीको क्षति भएको थियो । त्यसबेला सर्वस्व गुमाएका कतिपय व्यवसायी तथा परिवार विस्तारै आफ्नो व्यवसाय पुनःस्थापित हुँदै थिए । छ वर्ष नपुग्दै फेरि आगलागी दोहोरिएपछि उनीहरू आर्थिकसँगै मानसिक र पारिवारिक रूपमा ठूलो सङ्कटमा परेका छन् ।स्थानीयका अनुसार दोभान बजारमा बारम्बार हुने आगलागी नियन्त्रण तथा सम्भावित क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक छ । पछिल्लो समय बिजुलीका कारण धेरै आगलागीका घटना हुने गरेकाले घरमा प्रयोग हुने विद्युतीय सामान र जडानका बारेमा पनि सचेतना फैलाउनुपर्ने स्थानीय गुरु पौडेलले बताउनुभयो । यस्तै विपद्का समयमा तत्काल प्रयोगमा आउने विपद् प्रतिकार्य सामग्रीको सहज उपलब्धता बारेमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने स्थानीयले बताए । पछिल्लो समय यस जिल्लामा विद्युत्का कारण आगलागीका घटना बढ्दै गएका छन् । विद्युत्का कारण हुने आगजनी नियन्त्रणका लागि नागरिकस्तरमा व्यापक सचेतना जरुरी रहेको आवश्यकता औँल्याइएको छ ।
—
