२९ आश्विन २०८३, बिहिबार

फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

Logo
Pulse Khabar आइतबार, आश्विन ११, २०८३

कास्की:पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपत्कालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको ‘जेटस्की’ उद्धार बोट (डुङ्गा) सञ्चालनमा ल्याइएको छ ।

फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा शीघ्र उद्धार गर्ने उद्देश्यले आजदेखि सञ्चालनमा ल्याइएको उक्त बोट प्रतिघण्टा १०५ किमी गतिमा सञ्चालन हुनछ ।विश्व पर्यटन दिवसको अवसर पारेर उद्धार बोट सञ्चालनमा ल्याइएको हो । संयुक्त अरब इमिरेट्स (युएई)ले विपद् उद्धारका लागि सशस्त्र प्रहरी बललाई उपलब्ध गराएका दुई वटा बोटमध्ये एउटा पोखराको फेवातालमा ल्याइएको सशस्त्र प्रहरी बल, कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिनुभयो ।उहाँका अनुसार उक्त बोट फेवातालमा स्थापना गरिएको सशस्त्र प्रहरीको रेस्क्यु टावरमा खटिएको सुरक्षा टोलीसँग रहनेछ । पानीमा तीव्र गतिमा आवतजावत, ‘वाटर सर्च’, ‘रेस्क्यु’, आपत्कालीन उद्धार तथा ‘वाटर पेट्रोल’का लागि बोट उपयोगी हुने उहाँले बताउनुभयो ।“फेवातालमा स्थापना गरिएको सशस्त्र प्रहरीको उद्धार टोलीले आवश्यकताअनुसार उक्त बोट प्रयोग गरी उद्धार कार्य गर्नेछ । उच्च गतिमा पानीमा आवतजावत गर्न सक्ने भएकाले दुर्घटना वा आपतकालीन अवस्थामा उद्धार टोलीलाई घटनास्थलमा छिटो पुग्न सहयोग पुग्नेछ”, प्रहरी उपरीक्षक सिंहले भन्नुभयो ।

बोटको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा उद्धार कार्यलाई थप छिटो, सुरक्षित र प्रभावकारी बनाउन उद्धार बोटले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।“फेवातालमा आउने छालको पूर्वअनुमान गर्न नसकिएको भएकाले आपतकालीन अवस्थामा छिटो उद्धार गर्न सकिने उच्च क्षमताको बोट सञ्चालनमा आउनु फेवातालको सुरक्षा व्यवस्थाका लागि महत्त्वपूर्ण उपलब्धि हो । पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटको सुरक्षा पहिलो प्राथमिकता दिएका छौँ”, प्रमुख आचार्यले भन्नुभयो ।प्रमुख आचार्यले फेवातालमा आउने पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्नु पर्यटन प्रवर्द्धनसँगै स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी तथा पर्यटनसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206