

ढोरपाटन (बागलुङ), ३२ असार — हरियालीले ढाकिएको अजङ्गका पहाड र त्यसको काखमा अवस्थित समथर मैदान ‘बुकीपाटन’ पछिल्ला दिनमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्न थालेको छ। समुद्री सतहबाट तीन हजारदेखि चार हजार ५०० मिटर उचाइमा रहेको बुकीपाटनमा दैनिकजसो पदयात्रीको चहलपहल बढिरहेको छ।
धेरै पहिले गोठालो र पशुचरण मात्रै हुने यो क्षेत्र अब आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। ढोरपाटन नगरपालिका–९ का गुनबहादुर बुढामगर भन्छन्, “पहिले बाहिरी मान्छे खासै आउँदैनथे। अहिले त दैनिक ५० जना जति बुकीपाटन पुग्छन्।”
उनका अनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचार भएपछि यहाँको सौन्दर्य र शान्त वातावरणमा रमाउन धेरै आउने गरेका छन्। हिमशृङ्खलाको दृश्य, गोठाले जीवनशैली र गर्मीयामको शीतलताले युवा पुस्ता आकर्षित भएको उनको भनाइ छ।
ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्ती मगरका अनुसार पहिले उपत्यकासम्म पुगेर फर्किने पर्यटक अब बुकीपाटन चढ्ने गरेका छन्। “काठमाडौँ, पोखरा, बुटवल, चितवनलगायतबाट आउनेहरू उपत्यका मात्र होइन, बुकीपाटनसम्म पुग्छन्,” उनले भने।
पदयात्राका लागि असारदेखि असोजसम्मको समय उपयुक्त मानिन्छ। गण्डकी प्रदेश सरकार र ढोरपाटन नगरपालिकाले पदमार्ग सुधार र पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको छ।
चितवनका रेवनकुमार शाक्य भन्छन्, “तराईको गर्मीभन्दा यहाँको चिसोपन रमाइलो लाग्यो। पदमार्ग अझ व्यवस्थित बनाउन सके झन् राम्रो हुने थियो।”
बिस्तारै चर्चामा आउँदै गरेको बुकीपाटन अब पदयात्रा र पहाडी सौन्दर्य अनुभव गर्नेहरूको आकर्षक गन्तव्य बन्न थालेको छ।