

पोख । जब प्रकृति, संस्कृति र आतिथ्यता एउटै ठाउँमा मिसिन्छ, त्यहाँ पुग्ने जो–कोहीले पनि जीवनभर सम्झनलायक अनुभव बोकेर फर्कन्छन् । पोखराबाट करिब ६० किलोमिटर टाढा, कास्कीको अन्नपूर्ण गाउँपालिका–१० मा अवस्थित घान्द्रुक गाउँ पनि यस्तै एउटा गन्तव्य हो, जहाँका ढुङ्गाले छाएका घर, सफा गल्लीहरू, चञ्चल हिमाल र गुरुङ समुदायको आत्मीयता पर्यटकलाई बारम्बार तानिरहेको छ ।
अन्नपूर्ण हिमश्रृङ्खलाको काखमा फैलिएको यो गाउँ न केवल प्राकृतिक सौन्दर्यका लागि चर्चित छ, यो गुरुङ जातिको परम्परा र संस्कृतिको जीवन्त संग्रहालयको रूपमा पनि परिचित छ। ढुङ्गा र स्लेटले बनेका घर, पिङपाट जस्तै चिटिक्क गल्ली, हिमालमाथि खेल्ने बादल र पाहुनालाई घरकै सदस्यझैँ सत्कार गर्ने गुरुङ परिवारहरूले घान्द्रुकलाई एक अनौठो र आत्मीय ठाउँ बनाएका छन् ।
स्थानीयको हाँसो र हिमालको सौन्दर्य
काठमाडौंबाट साथीहरूसँग घुम्न आएका शिक्षक छवि थापा यहाँको हिमाल र स्थानीयको आत्मीयताबाट मन्त्रमुग्ध भएको अनुभव सुनाउँछन् । “बर्खायाममा घुम्न उपयुक्त छैन भन्ने धेरैको धारणा छ,” उनले भने, “तर यहाँ आइपुगेपछि जुन आनन्द पायौँ, त्यो शब्दमा बयान गर्नै सकिँदैन । बादलभित्र लुकेको अन्नपूर्ण र माछापुच्छ्रे हिमाल हेर्दा र स्थानीयको मायालु व्यवहार देख्दा बारम्बार आउँजस्तो लाग्छ ।”
उनकी साथी बेसीसहरकी अनुजा न्यौपानेले पनि यहाँको शान्त वातावरण र हिमालको नजिकको अनुभवले घुमाइको थकान बिर्सिएको बताइन् । “घान्द्रुकबारे सुनेकोभन्दा धेरै राम्रा अनुभव पायौँ । यहाँको परम्परा, घरहरू, गल्ली र पाहुनासँगको आत्मीयता सम्झनलायक छ,” उनले भनिन् ।
जीवन्त संस्कृति र परम्पराको संगालो
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीका पूर्वअध्यक्ष नवराज अधिकारीका अनुसार घान्द्रुक गुरुङ समुदायको सांस्कृतिक धरोहर हो । “गाउँका घरहरूको वास्तुकला अनौठो छ । स्लेटले छाएका परम्परागत घर र ढुङ्गाले बनेका गल्लीहरूले गाउँलाई मौलिकता दिएका छन्,” उनले भने, “यहि मौलिकता र आत्मीयता नै घान्द्रुकको विशेषता हो, जसले यहाँ आउने पर्यटकलाई फेरि फर्कन प्रेरित गर्छ ।”
गाउँको बीचमा रहेको गुरुङ संग्रहालयमा गुरुङ समुदायको जीवनशैली, परम्परागत भाँडाकुँडा, हतियार र वेशभूषा प्रदर्शित छन्। आमा समूहले साँझपख नाच्ने घाँटु र सोरठी हेर्न पनि धेरै पर्यटक उत्सुक हुन्छन् ।
महिलाहरूको आत्मनिर्भरता र होमस्टे
घान्द्रुकमा अधिकांश होमस्टे महिलाहरूले सञ्चालन गरेका छन् । यसले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाएको होमस्टे सञ्चालक हरिमाया गुरुङ बताउँछिन् । “हिमाल हेरेर हुर्किएका हामी महिलाहरू अहिले आफ्नै खुट्टामा उभिएर संसारभरिका पाहुनालाई स्वागत गरिरहेका छौँ,” उनी भन्छिन्, “पारिवारिक वातावरणमा सेवा दिएका कारण पाहुनाहरू बारम्बार आउँछन् । चुल्हो–चौकाबाट सुरु भएको मेरो यात्रा अहिले आत्मनिर्भरताको कथा बनेको छ।”
अर्की होमस्टे सञ्चालक विभिमाया गुरुङको बुझाइमा घान्द्रुकको सांस्कृतिक र प्राकृतिक सौन्दर्यमै पर्यटक रमाउँछन् । “कोदोको ढिँडो, गुन्द्रुकको अचार, सिस्नु तरकारी र लोकल कुखुराको मासु यहाँका विशेष परिकार हुन्। नयाँ पुस्ताले पनि यो आत्मीयतालाई जोगाउनुपर्छ,” उनले चिन्ता व्यक्त गरिन् ।
नयाँ पुस्ताको उदासीनता र चिन्ता
यद्यपि नयाँ पुस्ताले गाउँमै बसेर होमस्टे चलाउने चासो नदेखाएकोप्रति यहाँका अग्रजहरूको चिन्ता बढ्दो छ । विभिमाया भन्छिन्, “जताततै विदेश जाने लहर छ। यसरी आफ्नै मौलिकता हराउने हो कि भनेर डर लाग्छ। हामीले जोगाइराखेको घान्द्रुकको आत्मा कतै मक्किने त होइन ”
स्थानीय सरकारको पहल
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीका अनुसार घान्द्रुकको पर्यटन विकासका लागि आर्थिक वर्ष २०८२र८३ मा २० लाख बजेट विनियोजन गरिएको छ । “यहाँको घरबास र होटलहरूले पारिवारिक माया दिने खालको सेवा दिने भएकाले पर्यटकहरू सन्तुष्ट भएर फर्किन्छन्,” उनले भने ।
घान्द्रुकका थप आकर्षण
हिमश्रृङ्खलाको अद्भुत दृश्य, चियाबगान, मेश्रामबराह र पुरानो गुरुङ संग्रहालयका साथै फागुन–चैतमा ढकमक्क फुल्ने गुराँसले घान्द्रुकको सौन्दर्यमा अझ गहिरो रङ थप्छ । स्थानीय महिलाहरूले साँझमा प्रस्तुत गर्ने परम्परागत नृत्यले पाहुनालाई यहाँको संस्कृतिमा अझ नजिक ल्याउँछ ।
घान्द्रुक न केवल घुम्न जाने ठाउँ हो, यो गुरुङ समुदायको पहिचान, महिलाहरूको आत्मनिर्भरता र मौलिक संस्कृतिको प्रतिरूप पनि हो । यही विशेषताले गर्दा घान्द्रुक भोलिका पुस्तासम्म यस्तै जीवन्त रहिरहोस् भन्ने चाहना स्थानीयको मात्र होइन, यहाँ पुगेका हरेक पर्यटकको पनि हुन्छ ।