३१ आषाढ २०८२, मंगलबार

किन घट्यो पूर्वमा धान रोपाइँ ?

Logo
Pulse Khabar सोमबार, आषाढ ३०, २०८२

काठमाडौैं । नेपालको पूर्वी क्षेत्रमा धान रोपाइँ गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रुपमा घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागका अनुसार असार २९ गतेसम्म गत वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशमा २० दशमलव ४ प्रतिशत विन्दु र मधेस प्रदेशमा २७ दशमलव ७ प्रतिशत विन्दु कम रोपाइँ भएको छ ।

विभागका अनुसार मुलुकभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ८३ हजार ७३२ रहेकामा हालसम्म ५९ प्रतिशत अर्थात् आठ लाख १६ हजार ४०५ दशमलव सात हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । गतवर्ष भने सोही अवधिमा ६७ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव छ प्रतिशत विन्दुले रोपाइँ कम भएको देखिन्छ ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले नेपालको पूर्वी क्षेत्रमा धान रोपाइँका लागि सुखद मनसुन नहुँदा रोपाइँ कम भएको बताए । “यसवर्ष कतै मनसुन प्रतिकूल त कतै अनुकूल बन्दा धान रोपाइँको अवस्थामा पनि गत वर्षको तुलनामा कुनै प्रदेशमा कम त कुनै प्रदेशमा बढी रहेको देखिएको छ”, उनले भने, “पूर्वी तराईमा मनसुन छिटो सुरु भए पनि वर्षा कम भयो, आकाशे पानी कुरेर बस्नुपर्ने किसानका बाध्यताका कारण रोपाइँ कम भएको हो ।”

विभागका अनुसार असार २९ गतेसम्म सबैभन्दा बढी रोपाइँ सुदूपश्चिम प्रदेशमा र सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको देखिएको छ ।

कुन प्रदेशमा कति रोपाइँ ?

कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६ दशमलव ७३ हजार हेक्टरमध्ये हालसम्म ४१ दशमलव ३२ प्रतिशत अर्थात् एक लाख १४ हजार २ सय २१ दशमलव ४ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशमा गतवर्ष सोही अवधिमा ६१ दशमलव ७ प्रतिशत रोपाइँ भएको थियो ।

विभागका अनुसार मधेस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये हालसम्म ३३ दशमलव ८ प्रतिशत अर्थात् एक लाख २५ हजार ८ सय ८८ दशमलव ६ हेक्टरमा रोपाइँ भएको छ । गतवर्ष सोही समयमा प्रदेशमा ६१ दशमलव ५ प्रतिशत रोपाइँ भइसकेको थियो ।

बागमती प्रदेशमा एक लाख २० हजार ५ सय ४५ हेक्टरमध्ये हालसम्म ९१ हजार ९ सय ८३ दशमलव नौ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ । जुन ७६ दशमलव ३१ प्रतिशत हो । प्रदेशमा गत वर्ष सोही अवधिमा ७० दशमलव छ प्रतिशत रोपाइँ भएको विभागको भनाइ छ ।

गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमध्ये हालसम्म ६६ दशमलव ९९ प्रतिशत अर्थात् ६३ हजार ९१ हेक्टर क्षेत्रमा रोपाइँ भइसकेको छ । प्रदेशमा गत वर्षको सोही अवधिमा ६७ दशमलव ४ प्रतिशत रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा हालसम्म ७३ दशमलव ७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेशमा तीन लाख दुई हजार ९३९ हेक्टरमध्ये हालसम्म दुई लाख २३ हजार २१२ हेक्टरमा रोपाइँ भएको हो । प्रदेशमा गतवर्षको यही समयसम्म ६६ दशमलव ७ प्रतिशत रोपाइँ भएको थियो ।

कर्णाली प्रदेशमा ४० हजार ८८४ हेक्टरमध्ये हालसम्म ८३ दशमलव २३ प्रतिशत अर्थात् ३४ हजार २५ दशमलव ९ हेक्टरमा रोेपाइँ सम्पन्न भएको हो । प्रदेशमा गतवर्ष यो समयसम्म ८६ दशमलव २ प्रतिशत रोपाइँ भएको थियो ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा असार २९ गतेसम्म ९३ दशमलव एक प्रतिशत रोपाइँ पूरा भएको छ । प्रदेशमा एक लाख ७६ हजार १ सय ५१ हेक्टरमध्ये हालसम्म एक लाख ६३ हजार ९ सय ९३ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । प्रदेशमा गतवर्ष यही अवधिसम्म ८६ प्रतिशत रोपाइँ भएकोे थियो ।

कृषि तथा पशुपक्षीं मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत धान रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेका छन् ।

पूर्वमा औसतभन्दा कम वर्षा

जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा)का अनुसार मनसुन अवधिमा मुलुकभर १४ सय मिलिमिटर सरदर वर्षा हुने गरेकोमा हालसम्म करिब चार सय मिलमिटर अर्थात मनसुन अवधिमा हुने वर्षाको २७ प्रतिशत वर्षा भएको छ ।

विभागको जनकपुर, सिमरा, विराटनगरलगायत वर्षा मापन केन्द्रको तथ्याङ्क हेर्दा यी मापन केन्द्रहरुमा औसतभन्दा कम वर्षा भएको छ । विराटनगरमा १५ प्रतिशत अर्थात् एक सय ५० मिलिमिटर वर्षा भएको छ । मनसुन अवधिभर यस क्षेत्र १४ सय मिलिमिटर वर्षा हुने गर्छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206