

काठमाडौं । रसुवामा मङ्गलबार आएको भीषण बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने ८६२ जनाको सकुशल उद्धार गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी विनोद घिमिरेका अनुसार आज थप दुई जनाको शव त्रिशूली नदीको तल्लो क्षेत्रमा फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । हालसम्म एक जनाको मात्रै पहिचान भएको छ भने अन्य शवहरूको सनाखत हुन सकेको छैन । केही शव चिन्न नसक्ने अवस्थामा भेटिएका छन् भने कतिपय अवस्थामा मानव अङ्ग मात्र फेला परेको प्रहरीको भनाइ छ ।
बाढीमा परेर अझै १९ जना बेपत्ता रहेका छन् । उद्धार र खोजीका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार हिमताल विस्फोट भएर आएको बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ भने भन्सार यार्ड, रसुवागढी हाइड्रोको ड्याम, धुन्चे–टिमुरे सडक र अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ । बाढीले २४ वटा कन्टेनर, छवटा ट्रक र ४२ वटा इभी गाडी पनि बगाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार माथिल्लो क्षेत्रको हिमताल विस्फोट नै बाढीको मुख्य कारण भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित गन्तव्यमा पठाइएको छ ।