नारायणगढ (चितवन):बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासनसम्बन्धी आफ्ना सेवा अनलाइन प्रणालीमार्फत प्रवाह गर्ने भएको छ ।
कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार मङ्गलबारदेखि उद्योग दर्ता प्रक्रिया ‘अनलाइन’बाट सुरु गरिएको छ । यस्तै, यही असोज १० गतेदेखि उद्योग प्रशासनसम्बन्धी सबै सेवा पूर्णरूपमा अनलाइन प्रणालीबाट सञ्चालन गरिनेछ ।उद्योग दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, नाम परिवर्तन, उद्देश्य परिवर्तन, पुँजी वृद्धि, खारेजी, उद्योगको स्तर परिवर्तन, कानुनी स्वरूप परिवर्तन तथा वर्ग परिवर्तनलगायतका सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत हुनेछ ।बागमती प्रदेशको उद्योग मन्त्रालयले सफ्टवेयर तयार गरी प्रदेशका १३ वटै जिल्लामा अनलाइन प्रणाली लागू गरेसँगै चितवनमा पनि उद्योग प्रशासनका सेवा अनलाइनबाट सञ्चालन गर्न लागिएको हो । उहाँका अनुसार यसअघि मकवानपुरमा यो प्रणाली सञ्चालनमा आइसकेको छ ।प्रमुख पौडेलका अनुसार कार्यालयमा दर्ता रहेका पुराना करिब १७ हजार उद्योगका फाइलको ‘डिजिटल’ अभिलेखीकरण गर्ने काम भइरहेको छ । असोज महिनामा नवीकरण गर्नुपर्ने उद्योगका फाइललाई प्राथमिकतामा राखेर डिजिटल अभिलेखीकरण भइरहेको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “असोज महिनामा नवीकरण गर्नुपर्ने उद्योगका सबै फाइललाई स्क्यान गरेर हामीले डिजिटाइज गर्दैछौँ । यो महिनामा आउने सेवाग्राहीको ८० प्रतिशत काम डिजिटाइज हुन्छ ।”
चितवनमा हाल १७ हजार उद्योग दर्ता छन् । तीमध्ये १२ हजार उद्योग सञ्चालनमा रहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । जिल्लामा २३ हजार वाणिज्य फर्म दर्ता छन् । उद्योगको तुलनामा वाणिज्यतर्फका फर्म बढी चलायमान रहेको उहाँले बताउनुभयो । कतिपय उद्योग भने आवश्यक प्रक्रिया पूरा गर्नका लागि मात्र सञ्चालनमा रहेको पाइएको छ । सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमा ‘सहायता कक्ष’ स्थापना गरिएको छ । अनलाइन फाराम भर्न नसक्ने वा कम्प्युटरको सुविधा नभएका सेवाग्राहीलाई सहायता कक्षका कर्मचारीले निःशुल्क सहयोग गर्ने व्यवस्था मिलाइएको छ । सेवाग्राहीले कुनै अन्योल भएमा फोन तथा इमेलमार्फत आवश्यक परामर्श लिन सक्नेछन् । कार्यालयबाट घरेलु, लघु तथा साना उद्योगका साथै हाल रु ५० करोडसम्म स्थिर पुँजी भएका मझौला उद्योगसमेत दर्ता तथा सञ्चालन अनुमति लिन सकिने प्रमुख पौडेलले जानकारी दिनुभयो ।सेवाग्राहीले घरबाट नै चौबिसै घण्टा अनलाइन आवेदन दिन सक्नेछन् । राजस्व भुक्तानी भएपछि मात्र कार्यालयबाट आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । कार्यालयले हाल सेवाग्राहीलाई अनलाइन दर्ता प्रणालीबारे जानकारी गराउने तथा कार्यालयमा रहेका पुराना फाइललाई डिजिटल अभिलेखीकरण गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
