०५ आश्विन २०८३, सोमबार

‘स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ’

Logo
Pulse Khabar सोमबार, आश्विन ०५, २०८३

तेह्रथुम:रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती रित्तिँदै गएका छन् ।

बेरोजगारीलाई राष्ट्रिय समस्याका रूपमा लिइरहँदा म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले भने आफ्नै गाउँको माटोमा पसिना र सीप खर्चिएर वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।करिब २० रोपनी क्षेत्रफलमा ५० वटा टनेल निर्माण गरी उहाँले व्यावसायिक सागसब्जी खेती गर्दै आउनुभएको छ । टमाटर, भन्टा, अकबरे खुर्सानी, काक्रो, बोडी र विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आउनुभएकी तुलसालाई बिहान ४ः०० बजेदेखि साँझसम्म खेतीको कामले फुर्सद हुँदैन ।“आफ्नै माटोमा मेहनत गर्न सक्यो भने पैसा पनि यहीँ फल्दोरहेछ”, बुढाथोकी भन्नुहुन्छ, “ढङ्ग पु¥याएर मेहनत गर्ने हो भने सरकारी जागिरभन्दा तरकारी खेती निकै जाती ।”उहाँको परिवारका अन्य सदस्य पनि खाली हुनुहुन्न । श्रीमान् सरकारी सेवामा हुनुहुन्छ भने ससुरा पनि सरकारी सेवाबाट अवकाश प्राप्त पूर्वकर्मचारी हुनुहुन्छ । खनालको परिवारले सागसब्जी खेतीसँगै करिब ८० रोपनी क्षेत्रफलमा धान खेती पनि गर्दै आएको छ । धानखेतीको जिम्मेवारी ससुराले सम्हाल्दै आउनुभएको छ भने तुलसाले मुख्य रुपमा सागसब्जी खेतीको व्यवस्थापन गर्नुहुन्छ । श्रीमान् सरकारी सेवामा रहे पनि बिहान–बेलुका सागसब्जी खेतीमा सहयोग गर्नुहुन्छ ।सागसब्जी खेतीका लागि दुई जना गाउँकै महिलालाई स्थायी कामदारका रुपमा जिम्मेवारी दिइएको छ । उहाँहरुलाई मासिक रु १८ हजार पारिश्रमिक दिने गरिएको छ ।

कामको चापअनुसार थप श्रमिक पनि बोलाउने गरिएको छ । त्यस्तै, बोलाइएका श्रमिकलाई कामको प्रकृतिअनुसार दैनिक रु ५०० देखि रु एक हजार ५०० सम्म दिने गरिएको तुलसा बताउनुहुन्छ । बुढाथोकी परिवारले करिब १६ वर्षअघि १२–१५ वटा टनेलबाट व्यावसायिक सागसब्जी खेती सुरु गर्नुभएको थियो । सृजनशील कृषि फर्म दर्ता गरी सञ्चालन गर्दे आउनुभएको उहाँले विसं २०७६ मा प्रदेश सरकारबाट रु पाँच लाख अनुदान प्राप्त गर्नुभयो । त्यसपछि थप टनेल विस्तार गरी ५० वटा पुर्याएको उहाँले बताउनुभयो ।“सुरुमा डेढ–दुई लाख रुपैयाँबाट खेती थालेका थियौँ”, उहाँले भन्नुभयो, “यहाँबाट भएको कमाईलाई फेरि यही व्यवसायमा थप्दै र लगानी गर्दै जाँदा अहिले करिब रु ८० लाख पुगेको छ ।” हटियामा एक पटकमा रु १० हजारदेखि रु ४० हजारसम्मको सागसब्जी बिक्री हुने गरेको तुलसा बताउनुहुन्छ । उहाँले हप्तामा दुई पटक सागसब्जी बजारमा बिक्रीका लागि लैजाने गर्नुहुन्छ । विशेषगरी बेमौसमी सागसब्जीको बजार राम्रो रहेको उहाँको अनुभव छ । कामदारको पारिश्रमिक, मल, बीउलगायतका खर्च कटाएर वार्षिक करिब रु १५ लाख खुद नाफा हुने गरेको उहाँ बताउनुहुन्छ । तुलसाका श्रीमान् यसअघि म्याङलुङ बजारमा साइबर सञ्चालन गर्नुहुन्थ्यो । विसं २०६० तिर वैदेशिक रोजगारीका लागि दुबई पुग्नुभएका उहाँ विदेशको दुःख र सङ्घर्ष देखेपछि स्वदेशमै केही गर्ने सोच बनाएर फर्किनुभएको थियो ।

त्यसपछि श्रीमान्–श्रीमती मिलेर १०–१२ वटा टनेलमा सागसब्जी खेती सुरु गरेका थिए । विसं २०७० सालयता उहाँका श्रीमान्ले जिल्ला अस्पताल तेह्रथुममा करार सेवामा काम गर्न थाल्नुभयो भने तुलसाले सागसब्जी खेतीलाई थप विस्तार गर्दै व्यावसायिक रूपमा सञ्चालन गर्न थाल्नुभयो ।सागसब्जी खेतीबाट भएको आम्दानीले परिवारको आर्थिक अवस्था सुधारिनाका साथै छोराछोरीको शिक्षामा पनि सहयोग पुगेको छ । म्याङलुङ बजार र इटहरीमा घर निर्माण गरिएको छ । छोरी स्नातक तह तेस्रो वर्षमा आइटी इन्जिनियरिङ अध्ययनरत हुनुहुन्छ भने छोरा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । छोराछोरीको शैक्षिक खर्चमा मासिक रु ६०–७० हजारसम्म खर्च हुने तुलसा बताउनुहुन्छ । “सागसब्जी खेतीबाट भएको आम्दानीले छोराछोरीको पढाइदेखि घरायसी खर्चसम्म धान्न सहयोग पुगेको छ”, उहाँ भन्नुहुन्छ ।म्याङलुङ बजारको टुँडिखेलमा लाग्ने मङ्गलबार र शुक्रबारको हटियाका लागि उहाँको टोलबाट मात्रै दुई वटा ट्र्याक्टर मा सागसब्जी जाने गरेको छ ।

विगतमा डोकोमा बोकेर बजार पुर्याउनुपर्ने भए पनि पछिल्ला पाँच–सात वर्षयता सडक विस्तार भएपछि सागसब्जी बजारसम्म पुर्याउन सहज भएको उहाँ बताउनुहुन्छ ।बिहान ४ः०० बजे नै खेतमा पुगेर बोटबिरुवाको अवस्था हेर्ने, रोग–किरा हटाउने, उत्पादन टिप्ने र बजार व्यवस्थापन गर्ने तुलसाका लागि कृषि व्यवसाय अहिले आम्दानीको माध्यम मात्र नभएर परिवारको भविष्य निर्माण गर्ने आधार पनि बनेको छ । तुलसाको १६ वर्षे कृषि यात्राले रोजगारीका लागि विदेशिनैपर्छ वा सरकारी जागिरमै निर्भर हुनुपर्छ भन्ने होइन, आफ्नै ठाउँमा उपलब्ध माटो, श्रम, सीप र स्रोत–साधनको सदुपयोग गर्न सके अवसरका ढोका खोल्न सकिन्छ भन्ने देखाएको छ । उहाँको सफलताले गाउँमा बाझिँदै गएका जमिनलाई उत्पादनसँग जोड्न सके आम्दानीसँगै रोजगारीका अवसरसमेत सिर्जना गर्न सकिने सन्देश दिएको छ । “आफ्नै गाउँको माटोमा मेहनत गर्न सके यहीँबाट राम्रो आम्दानी गर्न सकिन्छ”, खनाल भन्नुहुन्छ, “आफ्नै ठाउँमा भएको स्रोत र सीपलाई सदुपयोग गर्न सके परिवारसँगै बसेर काम गर्न र कमाउन सकिन्छ ।”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206