२७ आषाढ २०८२, शुक्रबार

‘राष्ट्रिय महाधिवेशनले पारित गरेको विषयमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता’ — शंकर पोखरेल

Logo
Pulse Khabar बिहिबार, आषाढ २६, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानका विषयमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता र अनुशासनहीनता भएको बताएका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीहरूको भेलामा उनले भने — “आफैँले पारित गरेको विधानमाथि अहिले प्रश्न उठाउनु अनैतिक र अराजक हो । जसले यस्ता गतिविधि गर्छ, त्यसको प्रतिवाद गर्नुपर्छ ।”

उनको भनाइमा, विधान महाधिवेशनले अन्तिम रूप दिएको कतिपय प्रावधान राष्ट्रिय महाधिवेशनले आवश्यकताअनुसार संशोधन गर्न सक्छ । तर प्रतिनिधि भएर अनुमोदन गरेका कुरा पछि आएर आलोचना गर्नु गलत हो ।

सरकार र नेतृत्वमाथि आक्रमण बढेको आरोप

पोखरेलले गत वर्ष अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेयता पार्टी र नेतृत्वमाथि आक्रमण बढेको दाबी गरे । “एमाले सरकार धेरैलाई मन नपरेकाले हरेक दुई महिनामा सरकार ढाल्ने हल्ला फैलाउने काम भइरहेको छ, ” उनले भने ।

महासचिव पोखरेलले कित्ताकाट नगर्न आग्रह गर्दै भने “विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन। अहिले नेताको नाममा कित्ताकाट हुनु जरुरी छैन। नीति र नेतृत्व निर्माण फरक कुरा हुन् भन्ने नेताहरूले बुझ्नुपर्छ ।”

कार्यक्रममा स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ‘नेता हुन निर्णयको विरोध गर्नुपर्छ’ भन्ने मानसिकता त्याग्न आग्रह गरे । केन्द्रीय सदस्य विष्णु रिजाल र रचना खड्काले पनि पार्टीको विधि र विधान विपरीत बोल्न नहुनेमा जोड दिए । पोखरेलले हालै सम्पन्न जनसङ्गठन महाधिवेशनका दस्तावेज सात दिनभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशनसमेत दिए ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206