विराटनगर:नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको केही घण्टामै मध्यराति मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीस्थित दुईवटा घरमा तोडफोड भएको छ ।
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि विनोद कार्की र ईश्वर भट्टराईको घरमा शनिबार राति करिब ११ः५० बजेतिर तोडफोड भएको हो ।प्रहरीका अनुसार ईश्वर भट्टराईको घरको आँगनमा रहेको गेटमा क्षति पुर्याइएको छ भने विनोद कार्कीको घरको झ्यालको सिसा फुटाइएको छ । कार्कीको घरमा रहेका ६ थान प्लास्टिकका कुर्सीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । कार्कीले भाडामा लिएको गाडीको सिसासमेत फुटाइएको र त्यसपछि चालकले गाडी त्यहाँबाट भगाएको बताइएको छ ।घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी नायब निरीक्षक (सई) कुमार राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । अस्थायी प्रहरी चौकी हसन्दहबाट समेत टोली परिचालन गरी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार घटनामा पथरीशनिश्चरे–६ गेलाबारीका अन्दाजी ३३ वर्षीय विशाल खड्का, ३५ वर्षीय निशान कार्की र ४० वर्षीय रोशन मण्डल संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्नहरु फरार रहेकाले खोजी तीव्र पारिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्तले बताए ।तोडफोडको वास्तविक कारण भने खुल्न नसकेको उनले बताए । घटनास्थलको अवस्था र स्थानीयसँगको सोधपुछका आधारमा थप अनुसन्धान भइरहेको पन्तको भनाइ छ ।‘घटनाको जानकारी पाएको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो ।
तर, घटनामा संलग्नहरु फरार भइसकेका रहेछन् । फरार भएकाको खोजी तीव्र पारेर घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ,’ उनले भने ।घर तोडफोड गरिएकामध्ये विनोद कार्की २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कोशी प्रदेशसभा सदस्यका उम्मेदवार थिए । शनिबार सम्पन्न कांग्रेसको वडा अधिवेशनबाट कार्की र भट्टराई क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । घटना भएका बेला भने दुवै जना घरमा थिएनन् ।तोडफोडमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भनिएका विशाल खड्का पनि शनिबारकै वडा अधिवेशनबाट कांग्रेसको वडा सदस्यमा चयन भएका थिए ।स्थानीयका अनुसार तोडफोडमा संलग्न समूहले विनोदका दाजु बलराम कार्कीमाथि समेत हातपात गरेको थियो । स्थानीय युवा भव्य मग्रातीमाथि पनि आक्रमण भएको र कुटपिटबाट उनी सामान्य घाइते भएको बताइएको छ ।बलरामका अनुसार करिब २० जनाको समूह घरेलु हतियारसहित राति घरमा आएको थियो । उनका अनुसार उक्त समूहले सुरुमा विनोद कार्की र ईश्वर भट्टराईलाई खोजेको थियो । दुवै जना घरमा नभेटिएपछि तोडफोड सुरु गरेको बलरामले बताए ।‘पार्टीको वडा अधिवेशनमा कुनै विवाद भएको थिएन । नेतृत्व सर्वसम्मत चयन भएको हो । तर, के कारणले तोडफोड गरियो भन्ने यकिन छैन,’ उनले भने । आक्रमणकारीको समूह मदिरा सेवन गरेर आएको हुन सक्ने उनको आशंका छ ।
उनले आफूलाई समेत उक्त समूहले हातपात गर्न थालेपछि घर पछाडिको बाटो हुँदै भागेर ज्यान जोगाएको बताए । ‘विनोद कार्की र ईश्वर भट्टराईलाई नै लक्षित गरेर आक्रमण गर्ने योजनासहित उक्त समूह आएको थियो । तर, दुवै जना घरमा थिएनन् । घरमै भएको भए जे पनि हुन सक्थ्यो,’ बलाराम भन्छन् ।स्थानीयका अनुसार कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत पार्टीको वडा अधिवेशन शनिबार सौहार्दपूर्ण रूपमा सम्पन्न भएको थियो । अधिवेशनमा कुनै विवाद नभएको र नेतृत्व सर्वसम्मत चयन भएको उनीहरूको भनाइ छ । तर, अधिवेशन सकिएको केही समयमै मध्यराति घरमा आएर तोडफोड तथा आक्रमण गरिएपछि स्थानीय त्रसित एवं आतंकित भएका छन् ।प्रहरीले घटनाको कारण, तोडफोडमा संलग्न व्यक्तिको भूमिका तथा अन्य व्यक्तिको सम्भावित संलग्नताका बारेमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गरेर कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
