सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेयता सयौँ सर्वसाधारण तथा युद्धबन्दी यौनहिंसा र यातनाको सिकार भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
अभिलेखीकरण गरिएका अधिकांश घटनामा रुसी अधिकारी सङ्लग्न रहेको राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।प्रतिवेदनअनुसार, फेब्रुअरी २४, २०२२ देखि यस वर्षको जुलाई अन्त्यसम्म यौनहिंसाका एक हजार चार घटनाको अभिलेख गरिएको छ । तीमध्ये ८९ प्रतिशत घटनाका लागि रुसी अधिकारीलाई जिम्मेवार ठह¥याइएको छ । यसमा रुसी सशस्त्र बल, कारागार सेवा र राष्ट्रिय सुरक्षा सेवाका सदस्यहरू सङ्लग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।बाँकी ११ प्रतिशत घटनामा युक्रेनी अधिकारी सङ्लग्न रहेको जनाउँदै राष्ट्रसङ्घले दुवै पक्षलाई घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।बीस पृष्ठको प्रतिवेदन यौनहिंसाका पीडित तथा बाँचेका व्यक्तिसँग गरिएका गोप्य अन्तर्वार्ता, अदालतका कागजात र आधिकारिक अभिलेखमा आधारित छ ।संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले प्रतिवेदनमा उल्लेखित घटनाको व्यापकता चिन्ताजनक रहेको बताउनुभएको छ । उहाँले युक्रेनमा जारी हिंसाका कारण यस्ता घटना अझै भइरहेको हुनसक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
युक्रेनस्थित राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका टोली प्रमुख ड्यानियल बेलले जेनेभामा पत्रकारसँग कुरा गर्दै अभिलेखीकरण गरिएका घटना वास्तविकताको सानो अंश मात्र भएको बताउनुभयो । अनुसन्धानकर्ताले दुवै पक्षबाट रिहा गरिएका बन्दीमध्ये करिब १० प्रतिशतसँग मात्र अन्तर्वार्ता गर्न सकेको र रुसी नियन्त्रणमा रहेका युक्रेनका क्षेत्रमा पहुँच नपाएको उहाँले जानकारी दिनुभयो ।प्रतिवेदनमा यौनहिंसाका अधिकांश पीडित पुरुष रहेको, विशेषगरी हिरासतमा रहेका व्यक्तिहरू बढी प्रभावित भएको उल्लेख छ । कब्जामा रहेका युक्रेनी क्षेत्रमा भने महिला र बालबालिका पनि प्रभावित भएको जनाइएको छ ।प्रतिवेदनअनुसार अभिलेख गरिएका घटनामा बलात्कार, सामूहिक बलात्कार, यातना, विद्युतीय झट्का तथा यौन प्रकृतिका अन्य अपमानजनक व्यवहार समावेश छन् ।राष्ट्रसङ्घले अभिलेख गरेको बलात्कारका घटनामा सबैभन्दा कम उमेरकी पीडित चार वर्षीया बालिका र सबैभन्दा बढी उमेरकी ८२ वर्षीया महिला रहेको जनाएको छ । दुवै घटनामा रुसी अधिकारीलाई जिम्मेवार ठह¥याइएको छ ।त्यस्तै, रुसी तथा अन्य विदेशी युद्धबन्दीमाथि युक्रेनी पक्षबाट भएको भनिएका उल्लङ्घनका घटनामध्ये झण्डै आधामा यौनहिंसाको धम्कीसमेत समावेश रहेको प्रतिवेदनमा उल्लेख छ ।उच्चायुक्त टर्कले अन्तरराष्ट्रिय कानुनको पालना गर्दै युक्रेनबाट आफ्ना सैन्य बल फिर्ता गर्न रुसलाई आग्रह गर्नुभएको छ ।
