दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु भएको छ भने कम्तीमा आठ विद्यार्थी घाइते भएका छन् ।
स्थानीय अधिकारी र प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।साउथ कोटाबाटो प्रान्तको बाङ्गा सहरस्थित बाङ्गा नेसनल हाईस्कुलमा घटना भएको हो । फिलिपिन्स राष्ट्रिय प्रहरीले विद्यालय परिसरलाई सुरक्षित बनाइएको र विद्यालय प्रशासन तथा स्वास्थ्यकर्मीसँग समन्वय गरी अनुसन्धान अघि बढाइएको जनाएको छ ।साउथ कोटाबाटोका गभर्नर रेनाल्डो तामायोका अनुसार मृत्यु हुने दुई विद्यार्थी एक बालक र एक बालिका हुन् । उनीहरू दुवै १४ वर्षका थिए । उहाँका अनुसार गोली चलाउने १६ वर्षीय विद्यार्थीले पछि आफैँलाई गोली हानेका थिए ।बाङ्गाका मेयर अल्बर्ट पालेन्सियाका अनुसार बन्दुकधारीले आफ्नो कक्षाको छेउमा रहेको कक्षामा रहेका विद्यार्थीमाथि गोली चलाएका थिए । गोली लागेका १० जनामध्ये दुई जनाको मृत्यु भएको र आठ जना घाइते भएका थिए । अत्यधिक आत्तिएर श्वासप्रश्वासमा समस्या देखिएका अर्का एक व्यक्तिलाई पनि उपचारका लागि अस्पताल लगिएको उहाँले बताउनुभयो । मेयरका अनुसार बन्दुकधारीले घटनाअघि आफ्ना केही साथीलाई घर जान भनेका थिए । आफूले केही गर्न लागेको र त्यसमा साथीहरू पनि मुछिन सक्ने भन्दै उनले उनीहरूलाई घर जान भनेको बताइएको छ ।
सहपाठीहरूले उनको भनाइलाई भने गम्भीर रूपमा नलिएको अधिकारीले बताएका छन् ।अधिकारीका अनुसार गोली चलाउन प्रयोग गरिएको हतियार बन्दुकधारीका बुवाको थियो । शिक्षा विभागका कर्मचारी उनका बुवाले हतियार सुरक्षित बाकसमा राखेका थिए । तर किशोरले उक्त बाकस तोडेर हतियार निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मेयरले बताउनुभयो ।प्रहरीले बन्दुकधारीले अनलाइनमा गरेको केही पोस्ट फेला पारेको जनाएको छ । ती पोस्टको गोलीकाण्डसँग कुनै सम्बन्ध भए–नभएकोबारे अनुसन्धान भइरहेको छ । गभर्नर तामायोका अनुसार बन्दुकधारीका एक साथीले उनी अनलाइनको ‘ट्र क्राइम’ समुदायमा सङ्लग्न रहेको बताएका थिए ।मेयर पालेन्सियाका अनुसार विद्यालयका सल्लाहकारले ती किशोरकी आमाले उनलाई मनोचिकित्सक कहाँ लैजान चाहेको जानकारी दिएका थिए । घटनाको कारण र गोलीकाण्डसँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
