०१ आश्विन २०८३, बिहिबार

झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

Logo
Pulse Khabar बिहिबार, आश्विन ०१, २०८३

भद्रपुर:झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिइने भएको छ ।

स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा आगामी असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको हो । कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोप जिल्लामा आइसकेको छ । स्थानीय तहसँगको समन्वय, स्वास्थ्यकर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापनलगायतका तयारी पूरा भइसकेको छ ।“जेईको सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो,” उहाँले भन्नुभयो, “लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटून् भन्ने उद्देश्यले स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरेर आवश्यक तयारी गरिएको छ ।”अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको कार्यालयले जनाएको छ । जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ ।

अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन हुनेछन् । देशभरमै झापामा जेई सङ्क्रमण उच्च रहेकाले यहाँबाटै खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ । झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये ५० वर्षमाथिका छ जना र आठ वर्षीय एक बालक रहेका छन् । मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताउनुभयो ।“खोप पूर्णरूपमा सुरक्षित छ । खोप लगाएपछि सामान्य असर देखिन सक्ने भए पनि त्यसबाट स्वास्थ्यमा गम्भीर समस्या हुँदैन,” उहाँले भन्नुभयो, “लक्षित समूहका नागरिकले अभियानमा सहभागी भएर खोप लगाउन आवश्यक छ ।”उहाँले गर्भवती तथा तत्काल खोप लगाउन नमिल्ने अवस्थाका बिरामीबाहेक लक्षित समूहका सबै नागरिकलाई खोप लगाउन आग्रह गर्नुभयो ।
–––

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206