विराटनगर:विराट टिचिङ हस्पिटलमा स्वास्थ्य शिक्षा प्रणालीमा सुधार, पाठ्यक्रम परिमार्जन तथा दक्षतामा आधारित चिकित्सा शिक्षाको कार्यान्वयनबारे बहस गर्न राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलअन्तर्गतको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (एचपीईडी) ले स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा ‘एचपीईडी–कन २०२६’ आयोजना गर्न लागेको हो । बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल परिसरमा स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई एकै मञ्चमा ल्याउने उद्देश्यसहित असोज १ देखि ३ गतेसम्म सम्मेलन हुन लागेको हो ।‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व: नवप्रवर्तन, समावेशिता र प्रभाव’ भन्ने नारासहित आयोजना हुने सम्मेलनमा नेपालको स्वास्थ्य शिक्षा प्रणालीलाई समयसापेक्ष र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउने विषयमा छलफल गरिने आयोजकले जनाएको छ।सम्मेलनमा मेडिकल डाक्टर, नर्स, एलाइड हेल्थ प्रोफेसनल, फिजियोथेरापिस्ट, जनस्वास्थ्य विज्ञ, स्वास्थ्य शिक्षा क्षेत्रमा संलग्न शिक्षक तथा विद्यार्थी, नीति निर्माता र अन्तर्राष्ट्रिय प्रशिक्षकको सहभागिता रहने छ ।आयोजक एवं सम्मेलन संयोजक प्रा. डा. हेमसागर रिमालका अनुसार भविष्यमा स्वास्थ्य शिक्षा, तालिम र सीप विकासको स्वरूप कस्तो हुनुपर्ने, विद्यमान पाठ्यक्रममा आवश्यक सुधार कसरी गर्ने तथा नेपालको स्वास्थ्य शिक्षा प्रणालीलाई विश्वव्यापी मापदण्ड अनुकूल कसरी परिमार्जन गर्ने भन्ने विषयमा कार्यपत्र तथा गहन छलफल हुनेछ ।
त्यसैगरी, स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती सम्बोधन गर्दै गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवा प्रवाहका लागि नयाँ प्रविधिको प्रयोग तथा दक्षतामा आधारित चिकित्सा शिक्षाको कार्यान्वयनबारे पनि सम्मेलनमा बहस गरिने छ ।सम्मेलनमा नेपाल, भारत, श्रीलंका र बेलायतसहितका देशबाट ३ सयभन्दा बढी स्वास्थ्य शिक्षाविद् तथा स्वास्थ्य क्षेत्रका विज्ञ सहभागी हुने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा ३० वटा कार्यपत्र प्रस्तुत गरिनेछ, जसमध्ये चारवटा कार्यपत्र विदेशी विज्ञले प्रस्तुत गर्ने छन् ।नेपालका चिकित्सा तथा स्वास्थ्य शिक्षा नीतिका विज्ञहरूले समेत विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।सन् २०१६ मा स्थापना भएको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्टले स्वास्थ्य शिक्षा तथा क्षमता विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थापनाको एक दशक पूरा भएको अवसरमा आयोजना हुन लागेको सम्मेलनबाट नेपालको स्वास्थ्य व्यवसाय शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा सुधारका लागि आवश्यक नीति तथा अभ्यासबारे नयाँ दिशानिर्देश तय गर्ने अपेक्षा आयोजकले गरेको छ ।
