२७ भाद्र २०८३, शनिबार

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

Logo
Pulse Khabar शनिबार, भाद्र २७, २०८३

फिलिपिन्समा फेरीमा भएको भीषण आगलागीमा मृत्यु भएका यात्रुका शव शनिबार बिहान पलावानको पर्यटकीय सहर कोरोन नजिकैको बन्दरगाहमा ल्याइएको छ ।

अधिकारीहरूले मृतकको संख्या ३५ पुगेको पुष्टि गर्दै अझै धेरै शव फेला पर्न सक्ने बताएका छन् ।बुधबार साँझ एमभी जुन एस्टर फेरीमा आगलागी भएपछि जहाज नियन्त्रणबाहिर गई पर्यटकीय क्षेत्र कोरोन नजिकै गएर अड्किएको थियो । आगलागी केही सेकेन्डमै जहाजभर फैलिएको बताइएको छ ।समाचार संस्था एएफपीका अनुसार शनिबार बिहान ३० वटा शव बन्दरगाहमा ल्याइएका थिए । शव व्यवस्थापनका लागि बन्दरगाहमा टेन्टसमेत स्थापना गरिएको थियो । फिलिपिन्स कोस्ट गार्डकी प्रवक्ता नोएमी कयाबयाबले शवहरू प्रहरीका फरेन्सिक अनुसन्धानकर्तालाई बुझाएर पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताउनुभएको हो ।“अहिले हाम्रो ध्यान शव उद्धारमा केन्द्रित छ । त्यसपछि घटनाको अनुसन्धान अघि बढाउनेछौँ,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।उहाँका अनुसार उद्धार गरिएका शवहरू जहाजको इकोनोमी कक्षमा फेला परेका हुन् । जहाजमा अझै कति शव बाँकी छन् भन्नेबारे अधिकारीहरूले पछि जानकारी दिने बताएका छन् ।कोस्ट गार्डका अनुसार घटनापछि हालसम्म ३० यात्रु र १३ चालक दलका सदस्य गरी ४३ जना उद्धार भएका छन् भने ५४ जना अझै बेपत्ता छन् । आगलागीपछि तत्कालै पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

कोस्ट गार्डले सार्वजनिक गरेका तस्बिरमा हाज्माट सूट लगाएका उद्धारकर्मीहरूले शवका झोला सानो पानीजहाजमा राखिरहेको देखिन्छ ।केही सेकेन्डमै फैलियो आगो:कोस्ट गार्डकी प्रवक्ता कयाबयाबले शुक्रबार रेडियोसँग कुरा गर्दै आगो जहाजको कार्गो होल्डबाट सुरु भएको र केही सेकेन्डमै जहाजभर फैलिएको बताउनुभएको छ ।“ठूलो विस्फोटको आवाज सुनेदेखि धुवाँ देखिन थालेको र त्यसपछि आगो लागेको थियो। आगो निकै छिटो फैलियो,” उहाँले भन्नुभयो ।उहाँका अनुसार आगो यति तीव्र गतिमा फैलिएको थियो कि धेरै यात्रुले लाइफ ज्याकेटसमेत लगाउने समय पाएनन् ।आफन्तको खोजीमा कोरोन पुगेका परिवार:मृतक तथा बेपत्ताको खोजीका लागि आफन्तहरू कोरोन पुगेका छन् । मायर काबिलान आफ्ना ४० वर्षीय भाइ रमेल गोन्जागाको खोजीमा कोरोन पुगेकी छन् । गोन्जागा व्यापारिक कामका लागि आफ्ना भिनाजुसँग मनिलाबाट उक्त फेरीमा यात्रा गरेका थिए ।“उहाँकी श्रीमतीले एक महिनाअघि मात्रै छोरी जन्माएकी थिइन् । छोरी जन्मिएकोमा उनी निकै खुसी थिए,” काबिलानले आँसु रोक्दै बताउनुभयो ।“बिहानसम्म पनि उनी बाँचेका छन् भन्ने विश्वास थियो । तर उहाँ अझै बेपत्ता छन् । अब मैले आशा गुमाइसकेँ,” उहाँले भन्नुभयो ।

घटनाबारे जानकारी पाउन आतुर सयौँ मानिसले स्थानीय मेयरको फेसबुक पेजमा आफन्त, साथीभाइ तथा एउटा कुकुरसमेत हराएको भन्दै खोजीका लागि टिप्पणी गरिरहेका छन् ।फेरीमा १३४ जनाको विवरण:फेरीको यात्रु तथा चालक दलको विवरणमा कुल १३४ जना उल्लेख गरिएको थियो । तर कोस्ट गार्डका अनुसार तीमध्ये दुई जना फेरीमा चढेका थिएनन् । फेरीमा यात्रुका साथै विभिन्न सामान, एउटा विद्युतीय सवारी, एउटा पिकअप ट्रक र मोटरसाइकलसमेत बोकेर लगिएको थियो ।फिलिपिन्समा अन्तरद्वीपीय फेरी दुर्घटनाको लामो इतिहास छ । सात हजारभन्दा बढी टापु रहेको यस देशमा लाखौँ मानिस यातायातका लागि सस्तो तर कमजोर नियमन भएका डुंगा तथा जहाजमा निर्भर छन् ।यसअघि जनवरीमा दक्षिणी फिलिपिन्समा ३४० भन्दा बढी मानिस सवार तीन तले फेरी डुब्दा कम्तीमा ५२ जनाको मृत्यु भएको थियो ।सन् २०२३ मा पनि लेडी मेरी जोय ३ फेरीमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको थियो । हालको एमभी जुन एस्टर दुर्घटना पनि लगभग त्यही समुद्री मार्गमा भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206