२४ भाद्र २०८३, बुधबार

रसुवाको बाढी र सङ्घर्षमा क्याप्टेन प्रिया अधिकारी

Logo
Pulse Khabar बुधबार, भाद्र २४, २०८३

रसुवा: दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ । हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने गरी उर्लेर आएको भीषण बाढीले रसुवा भोटेकोशी र त्रिशूली नदी किनारका सुन्दर बस्ती र भूगोललाई क्षणभरमै क्षतविच्छेद तुल्यायो ।

नेपाल–चीनबीच रहेको केरुङ अन्तरराष्ट्रिय नाकास्थित दुवै देशका महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीको हताहत भयो भने दसकौ  लगाएर तयार गरिएका भौतिक पूर्वाधारसम्बन्धी संरचना पनि एकैसाथ ढले । नदी किनारका सुन्दर बस्तीहरू खण्डहरमा परिणत भयो । ती ठाउँ सञ्चार र सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भए । त्यस बाढीमा परी हराइरहेकामध्ये एक हजार ३६७ जनाको शव प्राप्त भएको छ ।

मानसरोवर र गोसाइँकुण्डको तीर्थयात्रमा रहेका ५०० भन्दा बढी विदेशी नागरिकको ज्यान गयो । त्यस बाढीमा परी पाँच हजारभन्दा बढी नागरिक अहिले सम्पर्कविहीन छन् । त्यस क्षेत्रबाट हालसम्म बाढीप्रभावित १३ हजार ६४६ को उद्धार गरिएको छ । बाढीसँगै आएको लेदोसहितको छालले विद्यालयमा पढिरहेका विद्यार्थी, डयुटीमा खटिरहेका सुरक्षाकर्मी, घरधन्दा गरिरहेका गृहणी, व्यापार व्यवसाय गरिरहेको नागरिक, सुरुङमा काम गरिरहेका इन्जिनियर, मजदुरसहित ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान लियो । त्यस क्षेत्रका सडक भत्केर खोचमा परिणत भए ।

चारैतिर हिलोको साम्राज्यजस्तो भयो । दुवै नदी किनारका क्षेत्र सिमेन्ट प्लास्टर गरेको मैदानजस्तो भयो । बाढीको त्यस खालको क्रन्दनबाट परिवार, आफन्त र धनमाल गुमाएका रसुवावासीको आँसु, चित्कार र कोलाहलकाबीचमा रसुवावासीका लागि हेलिकप्टरको उडान नै बाँच्ने र बचाउने एकमात्र जीवनको आधार बन्न पुग्यो । बाढीको उग्ररुपले प्रभावित क्षेत्रका सबै खाले पुलपुलेसो बगाएकाले वारिपारि तथा ओल्लोबाट पल्लोगाउँ पुग्ने विषय कल्पना बाहिर थियो । यही विभिषिका र त्रासदीको भूमरीका बीच रसुवाको अस्थायी हेलिप्याडमा हेलिकप्टर चालक क्याप्टेन प्रिया उत्रनुभयो । त्यस दिनको घटनाको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “मेरो वरिपरि रोइरहेका आफन्तहरू, पहिरोमा पुरिएर घाइते भएकाको छटपटी र टोलाइरहेका वृद्धवृद्धाको भीड थियो । मौसम असाध्यै प्रतिकूल थियो । बाक्लो कुहिरो र कालो बादलले रसुवाका अप्ठ्यारा पहाडका टाकुरालाई पूर्ण रूपमा ढाकेका थिए । हावाको गति तीव्र थियो । यस्तो अवस्थामा उडान भर्नु भनेको सिधै मृत्युको ककपिटमा बस्नुसरह थियो ।”

त्यस बेला बाढीप्रभावित क्षेत्रमा उद्धार टोली र स्थानीय आकाशतिर हेर्दै प्रार्थना गरिरहेका थिए । ठीक त्यही निसासिँदो बादललाई चिर्दै, पहाडका कापबाट जोगिँदै धुञ्चेको आकाशमा एउटा हेलिकप्टर ओर्लियो । ब्लेडको कानै खाने आवाजका बीच हेलिकप्टर भुइँमा टेक्यो र ककपिटको ढोका खुल्यो । सैनिक पोसाकजस्तै कडा मिहिनेत झल्किने पोसाक, एभिएटर चश्मा र अनुहारमा एउटा गम्भीर एकाग्रता बोकेर ककपिटबाट उहाँ ओर्लिनुभएको थियो ।

मैले प्रियालाई धेरै नजिकबाट नियाल्ने मौका पाएँ । उहाँको अनुहारमा न त कुनै थकान देखिन्थ्यो, न त मौसमको त्यो डरलाग्दो रूपप्रतिको भय । उहाँको आँखा र सोच थियो त केवल, “कसरी छिटोभन्दा छिटो घाइते र जोखिममा परेकालाई सुरक्षित स्थानमा पुर्याउने”, भन्ने दृढ मानवीय सङ्कल्प । हेलिकप्टरको इन्जिन बन्द नहुँदै उहाँ आफैँ हिलोमा कुदै अघि बढ्नुभयो । पहिरोले क्षतविक्षत भएका वृद्धवृद्धालाई पिठ्युँमा बोक्न सघाउनेदेखि रोइरहेका बालबालिकालाई फकाएर हेलिकप्टरभित्र सिटमा बाँध्नेसम्मको काममा उहाँ आफैँ खटिएकी खटिनुभयो । पहिरोको हिलो र पीडितको आँसुका बीच उहाँले त्यो सक्रियता साच्चिकै मानवीयताले भरिएको देखिन्थ्यो ।

सामान्य अवस्थामा हिमाली र पहाडी भेगमा एक–दुई पटक उडान भर्न पनि पाइलटहरूले निकै कसरत र मौसमको पर्खाइ गर्नुपर्छ । तर, रसुवाको त्यो असाध्यै कठिन भूगोल, साँघुरो उपत्यका र कतिपय अवस्थामा शून्य प्रायः भिजिबिलिटीका बीच पनि प्रियाले दैनिक १० पटकसम्म उडान गर्नुभयो । एकपटक उड्नु, घाइतेलाई काठमाडौँ वा सुरक्षित अस्पताल पुर्याउनु अनि फेरि तुरुन्तै रसुवाको जोमखिमयुक्त आकाशमा फर्किनु यो कुनै सामान्य व्यावसायिक जिम्मेवारी मात्र थिएन, वीरलै देखिने साहस थियो ।

हेलिकप्टरको इन्जिनको चर्को आवाज र हावाको बेगका बीच उहाँले आफ्नो पसिना पुछ्दै भन्नुभयो, “जब म ककपिटमा बस्छु र हेलीकप्टरले जमिन छाड्छ, मलाई मेरो अगाडिको खराब मौसम वा खतराको महसुस नै हुँदैन । मेरो दिमाग र नजरमा केवल भुइँमा छटपटाइरहेका, उद्धारको पर्खाइमा रहेका ती निर्दोष अनुहार मात्र नाच्छन् । उनीहरूलाई समयमै बचाएर सुरक्षित ठाउँमा पुर्याउनु पाउनु नै मेरो उडानको सबैभन्दा ठूलो सार्थकता र ऊर्जा हो ।” उहाँको यो आँटिलो अनि जोसिलो वाक्यले त्यहाँ उपस्थित सबैको मन ढुकढुक बनायो ।

त्यो बाढीले रसुवाको जमिन मात्र हल्लाएको थिएन, सिङ्गो देशको मन कम्पन गराएको थियो । तर, त्यो आँसु र हिलोको दलदलकाबीच क्याप्टेन प्रियाजस्ता साहसी सारथीले मल्हम लगाउने काम गर्नुभयो । दिनमा १० पटक मृत्युसँग जुध्दै जीवनको उडान भर्ने क्याप्टेनको साहस रसुवाको इतिहासमा र नेपाली नागरिकको मनमा सधैँ एउटा मार्गदर्शक र प्रेरणादायी कथाका रूपमा जीवित रहनेछ ।

मिस नेपालको मञ्चदेखि नेपाली आकाशसम्मको सफल यात्रा तय गरेकी क्याप्टेन प्रिया अधिकारी हालैको बाढीप्रभावित रसुवा जिल्लामा नागरिकको जीवन बचाउने महाअभियानमा अहोरात्र खटिएकी देशकै पहिलो महिला हेलिकप्टर क्याप्टेन हुनुहुन्छ ।

बाढीपछि रसुवा पुगेपछि क्याप्टेनको दैनिकी पूर्ण रूपमा उद्धार उडानमै व्यस्त रह्यो । यसबीचमा उहाँले १०० भन्दा बढी उद्धार उडान गर्नुभयो । विशेष गरी रसुवाको टिमुरे तथा नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा फसेका, घाइते भएका र अलपत्र परेका नागरिकहरूको उद्धारमा उहाँको हेलिकप्टर निरन्तर उडिनै रह्यो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206