२३ भाद्र २०८३, मंगलबार

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

Logo
Pulse Khabar मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ:नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ ।

दिली, तिमोर–लेस्तेमा आज आयोजित ‘डब्लुएचओ’ दक्षिण पूर्वी एशिया क्षेत्रीय कमिटीको ७९(उनासी)औँ  बैठकमा सो विश्व प्रतिष्ठित सम्मान सङ्घलाई अर्पण गरिएको हो । ‘डब्लुएचओ’का महानिर्देशक डा टेड्रोस अधानोन ग्याब्रियससले सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तलाई उक्त सम्मान अर्पण गर्नुभयो ।नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्युनीकरण तथा सर्वसुलभ, समतामूलक र विपन्न, पहँुचबाट बाहिर रहेका समुदाय केन्द्रित नेत्र स्वास्थ्य सेवाको विस्तारमा अतुलनीय योगदान पुर्‍याएवापत ‘डब्लुएचओ’ले पहिलो पटक सङ्घलाई सो विधाको सम्मान अर्पण गरेको ‘डब्लुएचओ’द्वारा यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार सार्वजनिक स्वास्थ्य विधामा नेपाल नेत्रज्याति सङ्घसहित थाइल्याण्डका डा नित्ताया फानुफाक र भारतका डा के सुरेशकुमारलाई पनि सम्मान प्रदान गरिएको छ ।अन्धोपन न्यूनीकरण गर्न निरन्तरता:नेपाल नेत्रज्योति सङ्घले विगत करिब पाँच दशकदेखि नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि निरन्तर कार्य गर्दै आएको छ ।देशभर फैलिएको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रको सञ्जाल, समुदायस्तरमा सञ्चालित आँखा उपचार तथा शल्यक्रिया शिविर, पहुँचभन्दा बाहिर रहेका समुदायसम्म आँखा स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम तथा प्राथमिक स्वास्थ्य सेवासँग आँखा स्वास्थ्यलाई एकीकृत गर्ने प्रयासमार्फत सङ्घले मानिसको दृष्टि पुनःस्थापना गर्न योगदान पु¥याउँदै आएको छ ।

सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घले हालसम्म पाँच करोड दुईलाख ४८९(चार सय उनान्नब्बे) जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९(उनन्साठी)हजार ६२४ जनाको आँखाको शल्यक्रिया समेत गरिसकेको छ । सङ्घको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ आँखा उपचार केन्द्रमार्फत नेपाली सहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिरहेको छ ।सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले भन्नुभयो, “नेपाल नेत्रज्योति सङ्घले समुदायको सहभागिता, साझेदारी र स्थानीय आवश्यकतामा आधारित सेवामार्फत सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ । सङ्घको देशव्यापी सेवा प्रणालीले विशेषगरी आर्थिक तथा भौगोलिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गर्दै निःशुल्क तथा सहुलियतपूर्ण आँखा उपचार र शल्यक्रिया सेवाको पहुँच विस्तारलाई प्राथमिकताका साथ काम गरिरहेका छौँ ।”‘डब्लुएचओ’ अनुसार नेपालमा अन्धोपनको अवस्था सन् १९८१(उन्नाइस सय एकासी) मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०÷२१ सम्ममा घटेर ०.२८ प्रतिशत मा पुगेको छ ।

‘डब्लुएचओ’ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका अनुसार यस वर्ष सार्वजनिक स्वास्थ्य क्षेत्रका लागि १०२ मनोनयन परेका थिए । सार्वजनिक स्वास्थ्यमा प्रभाव, नवीनता, विस्तारयोग्यता, दिगोपन र समतामूलक पहुँचलगायतका आधारमा वरिष्ठ डब्लुएचओ विज्ञ सम्मिलित छनोट समितिले मूल्याङ्कन गरी अवार्डका प्राप्तकर्ताहरू छनोट गरिएको हो । यो सम्मानले नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सबैका लागि गुणस्तरीय र पहुँचयोग्य आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न नेपाल नेत्रज्योति सङ्घले गर्दै आएको निरन्तर प्रयासको अन्तरराष्ट्रियस्तरमा भएको महत्वपूर्ण सम्मानका रूपमा अर्थ राख्ने जनाइएको छ । सङ्घका महासचिव चन्दका अनुसार सङ्घले यस अवार्डलाई सङ्घसँग आबद्ध चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक, जिल्ला शाखा, आँखा अस्पताल तथा आँखा उपचार केन्द्र, नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, विकास साझेदार, दातृ संस्था, स्थानीय समुदाय तथा सम्पूर्ण शुभेच्छुकहरूको सामूहिक योगदानको सम्मानका रूपमा लिएको छ ।अर्काेतर्फ सङ्घले गत आवमा विदेशी बिरामी मार्फत एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याएको छ । यसबाट स्वास्थ्य पर्यटनमा नयाँ सम्भावनाको ढोका समेत खुलेको जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206