काठमाडौं:अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीले मंगलबार बिहान ६:४० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।प्रहरीका अनुसार काठमाडौंबाट धादिङतर्फ जाने चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा खसेको पहिरो हटाइएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा भने सवारी सञ्चालन रोकिएको छ । उक्त क्षेत्रमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म अवस्था मूल्याङ्कन गरेर मात्र सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा रातिको समयमा हुन सक्ने जोखिमलाई ध्यान दिँदै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त सडकखण्डमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
