२२ भाद्र २०८३, सोमबार

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित

Logo
Pulse Khabar सोमबार, भाद्र २२, २०८३

बाजुरा: शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन प्रभावित भएको छ ।

लगातारको अविरल वर्षापछि सडक र विद्युत् अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो । पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत् र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । लगातारको वर्षाका कारण बडीमालिका नगरपालिका–९(नौ) स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट ठुलो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुई दिनदेखि सडकखण्ड अवरुद्ध हुँदा सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधनहरु रोकिएपछि यातायात ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार अवरुद्ध सडकखण्ड सुचारु गर्न आइतबार नै जेसीबी प्रयोग गरेर पहिरो पन्छ्याउने काम सुरु गरिएको थियो । तर दिउँसोबाट पुनःभारी वर्षा सुरु भएपछि रोकिएकोमा आज बिहानबाटै सडक विभागका एउटा जेसीबी र एउटा स्काभेटर लगाएर सडक खोल्ने कार्य भइरहेको भाटले बताउनुभयो । जिल्लाभर विद्युत् आपूर्ति बन्द :शनिबार राति अविरल वर्षापछि पहिरोले ३२ वटा खम्बा ढलेपछि बाजुरा जिल्लाभर राष्ट्रिय प्रशारण लाइनको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९(नौ) सुवाकाँध र वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ खम्बा ढलेपछि विद्युत् आपूर्ति बन्द भएको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार सुवाकाँधमा सडकमाथिबाट ठूलो पहिरो खस्दा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन् । शनिबार राति करिब ९ बजे जिल्लाभर विद्युत् सेवा बन्द भएको थियो ।

अवरुद्ध विद्युत् सेवा मर्मतका लागि हिजोदेखि नै प्राविधिकको टोली त्यस क्षेत्रमा खटिएको कार्यालयले जनाएको छ । अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइनको विद्युत् सञ्चालनमा छ ।विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् । सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहसँगै विद्युत्बाट सञ्चालन हुने सम्पूर्ण कामकाज प्रभावित भएका छन् । अवरुद्ध विद्युत् र सडक सुचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला प्रभावित क्षेत्रमा खटिनु भएको जनाएको छ । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ र ९ का विभिन्न स्थानमा आइतबार पहिरो खस्दा दुई वटा घर, चार वटा गोठ, एक गाईगोठ तथा एक पक्की घरमा क्षति पुगेका छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले अवरुद्ध सडक सुचारु गर्न राप्काबाट सडक विभागका दुई वटा मेसिन लगाएर मर्मत कार्य भइरहेको बताउनु भयो । विद्युत् सेवा सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराबाट प्राविधिक तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मीको टोली खटिएको ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206