रसुवा:भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका व्यक्तिको खोज तथा उद्धार तीव्र पारिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित चीन, भारत र कोरियाका विज्ञ टोलीले माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्ररुपमा भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले राससलाई जानकारी दिनुभयो ।
बाढीका कारण मृत्यु भएकामध्ये १४० को शव सङ्कलन गरिएको छ । एक सय ३४ वटा शव व्यवस्थापनका लागि नुवाकोट पठाइएको अधिकारीले जानकारी दिनुभयो । बाढीपछि रसुवामा दुई हजार ५६४ जना सम्पर्कविहीन भएका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार नेपाली सेनाको श्रीनाथ गणका २७, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, सरकारी कर्मचारी ७९(उनासी) , बैंक तथा वित्तीय संस्थाका २६, रसुवाली नागरिक एक हजार २२६, अन्य जिल्लाका ८८२ र पर्यटक २४३ जना हराइरहेका छन् ।
