विराटनगर:बाढी तथा विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले लायन्स क्लब अफ विराटनगर, नेपालकै पहिलो लायन्स क्लबले लायन्स डिस्ट्रिक्ट ३२५ सी विपद् कोषमा रु. १ लाख ३० हजार ५०७ सहयोग रकम जम्मा गरेको छ।
उक्त सहयोग रकम लायन्स क्लब अफ विराटनगरका अध्यक्ष लायन चन्द इराकीको नेतृत्वमा संकलन गरिएको हो। रकम हस्तान्तरण तथा जम्मा गर्ने क्रममा डिस्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरिया, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन फूलकुमार लालवानी, लायन्स डिस्ट्रिक्ट सचिव लायन रेखा गुरुङ, साथै लियो सञ्जु गोइत, पूर्व अध्यक्षहरू, लायन्स तथा लियो सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।विपद्को कठिन समयमा प्रभावित समुदायलाई राहत उपलब्ध गराउने अभियानमा हातेमालो गर्दै क्लबले आफ्ना सदस्य, लायन्स नेतृत्व तथा लियो परिवारबाट सहयोग रकम संकलन गरेको जनाएको छ।कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष लायन चन्द इराकीले विपद्को समयमा सेवा गर्नु नै लायन्सको पहिचान भएको बताउनुभयो
उहाँले समुदायलाई आवश्यक परेको समयमा एकजुट भएर सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै सानो–सानो सहयोगले पनि विपद् प्रभावित परिवारमा ठूलो आशा जगाउन सक्ने धारणा व्यक्त गर्नुभयो।त्यसैगरी, डिस्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले लायन्स क्लब अफ विराटनगरले विपद् राहतका लागि गरेको सहयोगको प्रशंसा गर्दै सम्पूर्ण लायन्स तथा लियो परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो।लायन्स क्लब अफ विराटनगरले आगामी दिनमा पनि सेवा, सहयोग र मानवीय कार्यलाई प्राथमिकतामा राख्दै समुदायको आवश्यकता अनुसार निरन्तर सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
