कास्की: पोखरामा यही भदौ १६ देखि २२ गतेसम्म ‘नोमाड बेसक्याम्प नेपाल २०२६’ आयोजना हुने भएको छ ।
पोखरालाई दक्षिण एसियाकै प्रमुख ‘रिमोट वर्क’ तथा प्रविधि नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सो कार्यक्रम गर्न लागिएको मङ्गलबार आायोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो कार्यक्रममा ३० देशका ३०० भन्दा बढी अन्तरराष्ट्रिय उद्यमी, ‘डिजिटल’ नोमाड, प्रविधि नवप्रवर्तक तथा सिर्जनाकर्मी सहभागी हुने आयोजकले जनाएको छ ।सात दिनसम्म चल्ने कार्यक्रमले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), उद्यमशीलता, रिमोट वर्क र अन्तरराष्ट्रिय ‘नेटवर्किङ’लाई नेपाली प्रतिभा तथा पर्यटनसँग जोड्ने लक्ष्य राखेको नोमाड बेसक्याम्पका संस्थापक ड्यानी फ्लडले बताउनुभयो ।उहाँका अनुसार अन्नपूर्ण हिमशृङ्खलाको काखमा आयोजना हुने सम्मेलनमा प्रविधिसम्बन्धी कार्यशाला, एआई तथा लगानीसम्बन्धी विशेष छलफल, अन्तरदेशीय नेटवर्किङ र सांस्कृतिक तथा साहसिक पर्यटनसँग जोडिएका कार्यक्रम सञ्चालन हुनेछ ।
“पोखरामा हुन लागेको दोस्रो संस्करणले स्थानीय प्रतिभा र युवा उद्यमीलाई विशेष प्राथमिकतामा राखेको छ । कर्पोरेट साझेदारको सहयोगमा विद्यार्थी तथा उदियमान नेपाली प्रविधि उद्यमीलाई सहभागी गराइनेछ,” उहाँले भन्नुभयो ।कार्यक्रममा जापानका चर्चित लेखक तथा ‘ह्याप्पी मनी’का लेखक केन होन्डा, सगरमाथा र विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने पहिलो प्यालेस्टिनी नागरिक मुस्तफा सलामेहलगायत सहभागी हुनुहुनेछ । फ्लडका अनुसार यस अभियानले पोखरा, काठमाडौँ र नेपालका अन्य क्षेत्रमा दीर्घकालीन आर्थिक प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ । विदेशी डिजिटल नोमाड तथा रिमोट वर्करको बसाइ अवधि बढेसँगै होटल, रेस्टुरेन्ट, पर्यटन, यातायात तथा स्थानीय सेवा क्षेत्रमा पनि आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
