

विराटनगर । विराटनगरस्थित प्रतिष्ठित एभरेष्ट बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा सफलता प्राप्त गरेका विद्यार्थीहरू र तिनका अभिभावकलाई एक समारोहका बीच अभिनन्दन गरेको छ।
विद्यालयले आज आयोजना गरेको विशेष कार्यक्रममा यस वर्ष एसईई उत्तीर्ण भएका १७१ जना विद्यार्थी र उनीहरूका अभिभावकलाई सम्मान गरियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले उत्कृष्ट शैक्षिक परिणाम हासिल गरेका विद्यार्थीहरूप्रति बधाई दिँदै, विद्यालयको शैक्षिक परम्परा र निरन्तरता बारे चर्चा गरे।
यस वर्ष विद्यालयका दुई जना विद्यार्थी प्रेम खतिवडा र कृति गोयलले ४.० जीपीए हासिल गरेका छन्। कुल १७१ जना सहभागी विद्यार्थीमध्ये १३३ जनाले ३.६१ देखि ४.० जीपीए प्राप्त गरे भने बाँकी ३८ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन्। सम्पूर्ण विद्यार्थीहरू उत्तीर्ण हुनु तथा अधिकांशले उच्च श्रेणी प्राप्त गर्नु विद्यालयको शैक्षिक गुणस्तरको प्रमाण भएको प्रिन्सिपल टीकाराम पुरीले बताए।
उनले भने, ‘४ जीपीए ल्याउनुपर्छ भन्ने मात्र होइन, गुणस्तरीय शिक्षा हासिल गर्नु नै मुख्य कुरा हो। एभरेष्ट आफैंमा एक ब्रान्ड हो, जसले लामो समयदेखि निरन्तर उत्कृष्टता देखाउँदै आएको छ।’
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले एसईईमा सफल सबै विद्यार्थीलाई बधाई तथा आगामी अध्ययन यात्रामा सफलताको शुभकामना व्यक्त गरे। उनले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै यस्तै प्रेरणादायी सफलता निरन्तर कायम राख्न सुझाव दिए।
विद्यालयले विगत तीन वर्षदेखि एसईईमा सफल विद्यार्थी र अभिभावकहरूको सम्मानमा यस्ता कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक र विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।