०४ भाद्र २०८३, बिहिबार

लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै

Logo
Pulse Khabar बिहिबार, भाद्र ०४, २०८३

त्रिशूली :नुवाकोटको लिखु गाउँपालिकाले स्थापनाको नौ वर्षपछि आफ्नै प्रशासनिक भवन निर्माण सुरु गरेको छ ।

केन्द्रसम्बन्धी विवाद र जग्गा प्राप्तिमा भएको ढिलाइका कारण यसअघि गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुन सकेको थिएन । निर्माणको बुधबार शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले गाउँपालिकाले प्रवाह गर्ने सेवा र पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरे पनि आफ्नै भवन नहुँदा भोग्दै आएको समस्या अब समाधान हुने बताउनुभयो ।गाउँपालिकाको कार्यालय हाल विद्यालयको भवनमा सञ्चालन भइरहेको छ । आफ्नै भवन निर्माण सम्पन्न भएपछि सहज र प्रभावकारी सेवा प्रवाह गर्न सकिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । विसं २०७३ फागुन २५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रकाशित राजपत्रमा गाउँपालिकाको केन्द्र साबिकको सूर्यमती गाविस भलादमी डाँडामा कायम गरिएको थियो । उक्त स्थानमा भवन निर्माणका लागि जग्गा अभाव र बाढीपहिरोको जोखिम देखिएपछि केन्द्र सिमलचौर कायम गरिएको थियो । सिमलचौरमा पनि बाढीपहिरोको जोखिम बढेपछि कार्यालय पुनः भलादमी डाँडाबाटै सञ्चालन हुँदै आएको छ ।उपाध्यक्ष शुभद्रा अधिकारीका अनुसार केन्द्र परिवर्तन र उपयुक्त जग्गा प्राप्तिको विषयमा लामो समयदेखि देखिएको विवाद समाधान भएपछि भवन निर्माणका लागि मार्ग प्रशस्त भएको हो ।

पछिल्लो पटक गाउँपालिकाले वडा नं ४ गड्खारमा केन्द्र कायम गरी भवन निर्माणका लागि बहुवर्षीय स्रोत सुनिश्चित गर्दै रु ११ करोड ३२ लाख बजेट विनियोजन गरेको छ । नयाँ बन्ने भवन बहुविपद् प्रतिरोधी प्रविधिमा आधारित हुने गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टका अनुसार भवन बालमैत्री, अपाङ्गतामैत्री तथा महिलामैत्री हुने गरी निर्माणको जिम्मेवारी दिइएको छ । भवनमा आवश्यक कार्यालय कक्ष, सभाहल, विषयगत शाखाका कार्यालय, न्यायिक समितिको इजलास, स्तनपान कक्ष, ज्येष्ठ नागरिक विश्राम कक्ष र बालमैत्री उद्यानलगायत संरचना निर्माण हुनेछ । भवन निर्माणको काम १८ महिनाभित्र सम्पन्न गर्ने गरी सूर्यकिरण निर्माण सेवालाई रु सात करोड ९७(सन्तान्नब्बे) लाखमा जिम्मा दिइएको छ ।पाँच वडा रहेको गाउँपालिकाका सबै वडा कार्यालय यसअघि नै सुविधासम्पन्न नयाँ भवनबाट सञ्चालनमा आइसकेका छन् । कुल १२ स्थानीय तह रहेको नुवाकोटमा आफ्नै प्रशासनिक भवन नभएको लिखु गाउँपालिका मात्रै हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206