०४ भाद्र २०८३, बिहिबार

आर्थिक समृद्धि: सडक सञ्जालले फेरियो भोजपुरका आलु किसानको दैनिकी

Logo
Pulse Khabar बिहिबार, भाद्र ०४, २०८३

भोजपुर:सडक सञ्जालको विस्तारसँगै भोजपुरका ग्रामीण क्षेत्रका किसानहरू व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

गाउँ–गाउँसम्म कच्ची तथा पक्की सडक पुगेपछि उत्पादित आलुले सहजै बजार पाउन थालेको हो ।कुनै समय उत्पादित आलु बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने र भरिया लगाएर महँगो ढुवानी खर्च व्यहोर्नु पर्ने बाध्यतामा रहेका किसानहरू अहिले घरदैलोमै व्यापारी आइपुग्दा हर्षित छन् । सडकको पहुँचले ढुवानीको समस्या हटेपछि किसानहरूले आलु खेतीलाई आम्दानीको मुख्य स्रोत बनाउन थालेका हुन् ।टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान रामबहादुर विष्टका अनुसार अहिले गाउँमै आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ‘पहिले उत्पादन गरेर पनि कहाँ बेच्ने भन्ने चिन्ता हुन्थ्यो, धेरैजसो आलु घरमै थन्किन्थ्यो,’ विष्ट भन्छन् , ‘अहिले सडकको सुविधा भएपछि व्यापारीहरू गाडी लिएर गाउँमै आउँछन् । यसले हामीलाई धेरै सहज भएको छ ।’प्रांगारिक मलको प्रयोग गरी उत्पादन गरिएको स्थानीय आलुको स्वाद र गुणस्तर राम्रो हुने भएकाले सहरमा यसको माग उच्च छ । गाउँमा ५० रुपैयाँसम्ममा खरिद गरिएको आलु धरान, इटहरी जस्ता सहरहरूमा पुग्दा प्रतिकिलो ६५ देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।केही वर्ष अघिसम्म आलु बजार पुर्‍याउन निकै कठिन थियो । भरियालाई बोकाएर लैजाँदा ढुवानी खर्चले नाफा नै खाइदिन्थ्यो । अहिले त्यो बाध्यता हटेको छ । व्यापारी घरमै आएर आलु जोखेर लैजाने गरेको किसानहरू बताउँछन् ।

भोजपुरका विभिन्न ग्रामीण भेगमा उत्पादित आलु अहिले स्थानीय बजारमा मात्र सीमित नभई तराईका ठुला सहरहरूमा समेत पुग्न थालेको छ । आलुसँगै मकै, अन्य तरकारी र फलफूलको बजारीकरणमा पनि सडकले ठुलो सहयोग पुर्‍याएको किसानहरूको अनुभव छ।कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांक अनुसार जिल्लामा हाल करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ । प्रांगारिक उत्पादनमा जोड दिइएकाले यहाँको आलुको माग बजारमा निरन्तर बढिरहेको छ ।सडक सञ्जालको विस्तारले किसानको श्रमको उचित मूल्य दिलाउनुका साथै ग्रामीण अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन ल्याएको छ । बजारको सुनिश्चितता भएपछि भोजपुरका थुप्रै किसानहरू अब परम्परागत खेती छाडेर व्यावसायिक आलु उत्पादनतर्फ उत्साहित देखिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206