नेपालको पहिचान, धर्म र राजनीतिबारे बहस आज फेरि सार्वजनिक चासोको विषय बनेको छ। गणतन्त्र स्थापाना पश्चात लामो समयदेखि हिन्दू धर्म र सनातन संस्कृतिसँग गहिरो रूपमा जोडिएको नेपाल अहिले धर्मनिरपेक्ष राज्यका रूपमा अघि बढिरहेको छ। यस परिवर्तनलाइ सनातन हिन्दु सम्प्रदायले सजिलै स्वीकार गर्न सकिरहेको छैन। नेपाली समाजमा एउटा स्वाभाविक प्रश्न जन्माएको छ,बहुसंख्यक जनता हिन्दू धर्म मान्ने देशमा नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने सम्भावना छ कि छैन? र यदि सम्भव छ भने त्यसका लागि बाटो के हो?
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा हिन्दू धर्म मान्ने जनसंख्या करिब ८१ प्रतिशत रहेको छ। यस तथ्यले नेपालमा हिन्दू धर्मको सामाजिक र सांस्कृतिक प्रभाव अत्यन्त बलियो रहेको देखाउँछ। तर बहुसंख्यक जनसंख्या कुनै धर्ममा आबद्ध हुनु र राज्यको संवैधानिक चरित्र एउटै कुरा होइन। नेपाल धर्मनिरपेक्ष राज्य बन्नु नेपालको आफ्नै राजनीतिक परिवर्तन, संविधान निर्माण र राज्यको स्वरूपबारे भएको लामो राजनीतिक बहससँग जोडिएको विषय हो।
यस विषयमा बाह्य प्रभावको चर्चा पनि हुने गर्छ तर नेपाल हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रमा परिवर्तन हुनु केवल कुनै एउटा विदेशी शक्ति वा बाह्य हस्तक्षेपको परिणाम हो भनेर निष्कर्ष निकाल्नु उचित हुँदैन। यस्तो संवेदनशील विषयमा प्रमाण, इतिहास र राजनीतिक प्रक्रियाका आधारमा बहस गर्न आवश्यक छ।
नेपालको संविधानले सबै नागरिकलाई धार्मिक स्वतन्त्रताको अधिकार दिएको छ। प्रत्येक व्यक्तिलाई आफ्नो धर्म मान्ने, अभ्यास गर्ने र संरक्षण गर्ने अधिकार छ। त्यसैले धर्मनिरपेक्षताको अर्थ धर्मविरोधी राज्य भन्ने होइन। त्यसैगरी नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने आवाज उठाउनु पनि आफैंमा अरू धर्मप्रति असहिष्णु हुनु होइन। लोकतान्त्रिक समाजमा बहुमतको कदर साथै अल्पमतको सम्मान हुनुपर्छ। सबै प्रकारको विचारलाई शान्तिपूर्ण रूपमा प्रस्तुत गर्ने अधिकार हुनुपर्छ।
नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने सम्भावनाका विषयमा पनि भावनाभन्दा संवैधानिक प्रक्रियालाई प्राथमिकता दिनुपर्छ। यदि नेपाली जनताको ठूलो हिस्साले राज्यको चरित्र परिवर्तन गर्न चाहन्छ भने त्यस विषयमा लोकतान्त्रिक बहस, जनमत र आवश्यक संवैधानिक प्रक्रियाबाट अघि बढ्न सकिन्छ। कुनै राजनीतिक दल वा समूहको इच्छाले मात्र राज्यको स्वरूप परिवर्तन हुँदैन।
नेपालको नामसँग ‘हिन्दू राष्ट्र’ जोड्नु समाजमा ठूलो परिवर्तनको अवधारणालाई सत्य, अहिंसा, करुणा, कर्तव्य, सेवा, अनुशासन, प्रकृतिप्रेम र नैतिक जीवनशैलीसँग जोडेर हेर्ने हो भने हो भने यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। सनातन परम्पराको शिक्षा केवल पूजा र धार्मिक अनुष्ठानमा सीमित छैन। यसले मानिसलाई सत्य बोल्न, माता–पिताको सम्मान गर्न, गुरुको आदर गर्न, कमजोरलाई सहयोग गर्न, प्रकृतिको संरक्षण गर्न र आफ्नो कर्तव्य पूरा गर्न प्रेरित गर्छ। यी मूल्यहरू व्यवहारमा लागू भए भने धर्म व्यक्तिगत आस्थाबाट सामाजिक संस्कारमा रूपान्तरण हुन सक्छ।
आज नेपालको राजनीतिक क्षेत्रमा जनताको ठूलो अपेक्षा छ। नागरिकहरू भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, सुरक्षा र सम्मानजनक जीवन चाहन्छन्। तर जब राजनीतिक दलहरूले धार्मिक भावना, जातीय भावना वा राष्ट्रिय भावनालाई केवल चुनाव जित्ने माध्यमका रूपमा प्रयोग गर्छन्, जनताको विश्वास कमजोर हुन्छ।
धर्मलाई राजनीतिक स्वार्थको साधन बनाउनु हुँदैन। बरु धर्मबाट प्राप्त नैतिक शिक्षालाई राजनीतिमा पनि प्रवेश गराउन सकिन्छ। राजनीतिज्ञले सत्य बोल्ने, सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति नठान्ने, जनताको सेवामा समर्पित हुने र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने संस्कार विकास गर्न सके धर्मको वास्तविक प्रभाव देखिन्छ।
त्यसैगरी अभिभावक र विद्यालयको भूमिकासमेत महत्वपूर्ण छ। बालबालिकालाई केवल परीक्षा उत्तीर्ण हुने शिक्षा होइन, असल मानिस बन्ने शिक्षा आवश्यक छ। धर्म, संस्कृति र नैतिक शिक्षालाई वैज्ञानिक सोच, मानव अधिकार, सहिष्णुता र लोकतान्त्रिक मूल्यसँग जोडेर अघि बढाउन सकिन्छ। त्यसैले आजको बहसलाई ‘हिन्दू बनाम गैरहिन्दू’ को विवादमा सीमित गर्नु हुँदैन। हाम्रो धर्म, संस्कृति, नैतिक शिक्षा र परम्पराले हामीलाई अझ राम्रो, इमानदार, सभ्य र मानवीय राष्ट्र बनाउन सहयोग हुनेछ।
नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने महान अभियान अन्तर्गत शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक बाटोबाट अघि बढ्नुपर्छ। राजनीतिक दलहरूले जनताको धार्मिक आस्थासँग खेल्नुको सट्टा त्यसलाई सम्मान गर्नुपर्छ। नागरिकहरूले पनि धार्मिक भावनालाई घृणा वा विभाजनको आधार होइन, सकारात्मक संस्कार र सामाजिक एकताको स्रोत बनाउनुपर्छ।
नेपालको शक्ति केवल संविधानको शब्दमा वा राज्यको धार्मिक पहिचानमा होइन। नेपाली नागरिकको चरित्र, व्यवहार र नैतिकतामा निर्भर हुन्छ। मन्दिर धेरै हुनु राम्रो हो, तर समाजमा सत्य र न्याय पनि धेरै हुनुपर्छ। धार्मिक कार्यक्रम धेरै हुनु राम्रो हो, तर मानवप्रति करुणा पनि हुनुपर्छ। धर्मको चर्चा धेरै हुनु राम्रो हो, तर धर्मको शिक्षा व्यवहारमा देखिनु अझ महत्वपूर्ण हुनुपर्छ। नेपालमा सनातन हिन्दुराष्ट्र बनाउनसकेको खण्डमा धर्म, संस्कृति, नैतिक शिक्षा र लोकतान्त्रिक मूल्यलाई एकसाथ अघि बढाउन सकिन्छ साथै नेपालको भविष्य अझ सकारात्मक, शान्तिपूर्ण र समृद्ध बन्न सक्छ।
