भद्रपुर (झापा): कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समितिले उहाँलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहनुभएको छ ।यसअघि यही साउन ८ गते समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो । नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई धनीपुर्जा वितरण गरिएको थियो ।तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९(दुई हजार उनासी)/८० देखि लगत सङ्कलनको काम सुरु गरेकोमा यस नगरपालिकामा हालसम्म २५८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिसकिएको भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालले जानकारी दिनुभयो ।उहाँका अनुसार लगत सङ्कलनका क्रममा नगरपालिकामा भूमिहीन दलित ३७५, भूमिहीन सुकुमवासी दुई हजार २४४ र अव्यवस्थित बसोबासी चार हजार ५८८ जनाको विवरण सङ्कलन गरिएको छ ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बाँकी रहेका लाभग्राहीलाई पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गर्दै जाने बताउनुभयो ।जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लाभरि जग्गाधनी पुर्जा वितरणका लागि लगत सङ्कलन तथा वितरण प्रक्रियालाई तीव्रता दिइएको बताउनुभयो ।समितिका सदस्य सचिव तथा जिल्ला नापी कार्यालय, भद्रपुरका प्रमुख शिवप्रसाद लम्सालका अनुसार यसै महिना जिल्लाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि पुर्जा वितरण सुरु भएको छ । बुद्धशान्तिमा आगामी हप्ता थप जग्गाधनी पुर्जा वितरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
