विराटनगर: लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सेवा सप्ताहअन्तर्गत विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले आकस्मिक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। विद्यार्थीहरूले तत्काल विषय प्राप्त गरी आफ्ना विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा प्रभावकारी अभिव्यक्ति प्रदर्शन गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि लायन्स जिल्ला ३२५ सी नेपालका जिल्ला गभर्नर लायन लीला प्रसाद चिमरिया रहनुभएको थियो। कार्यक्रममा दोस्रो उपजिल्ला गभर्नर लायन उदय नारायण बराल, क्षेत्रीय अध्यक्ष लायन सुनील रेग्मी, एओजी लायन योगेन्द्र साह, पूर्व जिल्ला गभर्नर लायन फूलकुमार ललवानी, लायन्स सेवा सप्ताहका मुख्य संयोजक लायन प्रकाशभक्त जोशी, मुख्य सल्लाहकार लायन घनश्याम काब्रा, कार्यक्रम संयोजक लायन सुदीप अधिकारी, कार्यक्रम सल्लाहकार लायन राजेश लखोटिया तथा सहसंयोजक लियो विभूति थापालगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको उद्घोषण लायन मनीष भट्टराईले गर्नुभएको थियो। लियो क्लब अफ विराटनगरका अध्यक्ष लियो सञ्जु गोइतसहित विभिन्न लायन्स क्लबका लायन्स तथा लियो सदस्य, पूर्व अध्यक्ष, वरिष्ठ लायन्स, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा दिनेश सुबेदी, उद्धव पोखरेल र कृति उपाध्याय रहनुभएको थियो।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रथम पुरस्कार ५ हजार रुपैयाँ, द्वितीय पुरस्कार ३ हजार रुपैयाँ र तृतीय पुरस्कार २ हजार रुपैयाँ प्रदान गरिएको थियो। साथै सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो।लायन्स सेवा सप्ताहअन्तर्गत आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, सिर्जनात्मक सोच तथा प्रभावकारी अभिव्यक्ति विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।‘हामी सेवा गर्छौं’ भन्ने लायन्सको मूल भावनालाई आत्मसात् गर्दै सेवा सप्ताहअन्तर्गत शिक्षा, युवा, स्वास्थ्य, सुरक्षा तथा सामाजिक सेवासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आकस्मिक वक्तृत्वकला प्रतियोगिता पनि युवा प्रतिभा पहिचान तथा नेतृत्व विकासमा केन्द्रित सेवा सप्ताहको महत्वपूर्ण कार्यक्रमका रूपमा सम्पन्न भएको हो।कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी, निर्णायक मण्डल, लायन्स तथा लियो सदस्य एवं उपस्थित सम्पूर्ण महानुभावहरूप्रति लायन्स क्लब अफ विराटनगरले हार्दिक आभार व्यक्त गरेको छ।


